सिट बाँडफाँडको प्रतिवेदनलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै
२३ भदौ, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बिहीवार (आज) टुङ्ग्याउँदै छ ।
सिट बाँडफाँडको प्रतिवेदनलाई अन्तिम रूप दिन कार्यदलको बैठक बिहीबार बिहान ९ बजे बस्ने तयारी गरिएको छ ।
यसअघि बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको थियो ।
सो बैठकले बिहीवार प्रतिवेदन शीर्ष नेतालाई बुझाउने निर्णय गरेको थियो ।
बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन बिहीवार बिहान बैठक बसी शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिएका छन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन्।
यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्