सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति

फाइल तस्बिर

२५ भदौ, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष सकिएको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलका नेताहरूको बैठक सहमतिमा पुग्न नसकेको हो ।

सिट बाँडफाँटबारे छलफल भयो । तर सहमति भएन,’ जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले भने,’भोलि ८ बजे फेरि बैठक बस्नेछ ।’

frontline

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले २० साउनमै आगामी चुनावमा तालमेल गर्ने सहमति गरेका थिए भने त्यही दिन कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनाएका थिए ।

तर, कार्यदलले दर्जनौं पटक छलफल गरे पनि सिट बाँडफाँटका विषयमा टुंगो लगाउन सकेको छैन । कार्यदलले एकमात्रै दलको दाबी रहेका करिब ९० सिटमा समझदारी जुटाएर शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ ।

एकभन्दा बढी दलको दाबी रहेका निर्वाचन क्षेत्रका विषयमा शीर्ष नेताहरूबीच समझदारी बनेको छैन । त्यसो त, अहिलेसम्म कुन दलले कति सिट लिने भन्नेसमेत टुंगिएको छैन ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।

सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ । सिट बाँडफाँटमा महिनौंसम्म सहमति जुटाउन नसके पनि अहिल्यै गठबन्धन टुट्ने सम्भावना भने नरहेको नेताहरूको भनाइ छ ।

शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौंबाहिर गएका कारण बैठक बस्न सकेको थिएन । नेताहरूले शनिबारको बैठकलाई भने निर्णायक बैठक भनेका थिए ।

तर सहमतिमा पुग्न सकेन । समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने दिन नजिकिँदा दलहरूलाई सिट बाँडफाँट टुंग्याउन दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here