साफ यू–१९ महिला च्याम्पियनसिप : नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्दै
४ पुस, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम लिग खेलमा आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा यस खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।
पाँच टिम सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहेर फाइनल पुग्न नेपाललाई भारतविरुद्ध बराबरी नै पर्याप्त छ । भारत भने नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ ।
नेपाल ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ । समान अंक भए पनि गोलअन्तरमा पछि रहेको बंगलादेश दोस्रो स्थानमा छ ।
भारत भने दुई जित र १ हारबाट ६ अंकसहित तेस्रो स्थानमा छ । भारत पछिल्लो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनसिप सुरुवात गरेको थियो ।
त्यसपछि नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० ले र तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल पराजित गर्दै फाइनल दाबेदार पेस गरेको थियो ।
भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।
आजै बंगलादेशले श्रीलंकासँग अन्तिम खेल खेल्दैछ । यदि नेपालले भारतलाई पराजित गरेमा बंगलादेश जस्तो नतिजा आए पनि फाइनल पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्