साक्षर गाउँपालिका घोषणा सोलुखुम्बु

जिल्लाको नेचासल्यान गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ ।

संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई “सुरवीर”को प्रमुख आतिथ्यता तथा नेकपा एमाले संसदीय दल प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतको विशिष्ट आतिथ्यमा सम्पन्न विशेष कार्यक्रममा नेचासल्यानलाई मंगलबार साक्षर गाउँपालिका घोषणा गरिएको हो । साक्षर गाउँपालिका घोषणा गर्ने नेचासल्यान जिल्लाकै पहिलो गाउँपालिका बन्न पुगेको छ । गत चैत ११ गते बसेको गाउँकार्यपालिकाको बैठकले नेपाल सरकारले तोकेको मापदण्ड पूरा भएका कारण गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्ने निर्णय गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

frontline

नेपाल सरकारको साक्षर गाउँपालिका, नगरपालिका तथा जिल्लाको घोषणाका लागि तयार गरिएको अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिका २०७५ बमोजिम नेचासल्यान गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा संकलन गरेको सक्षरता तथ्यांक अनुसार कूल जनसंख्या १५,५२६ मध्ये ९७ प्रतिशत साक्षर रहेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनु भयो । अध्यक्ष बाँस्तोलाका अनुसार नेचासल्यान गाउँपालिकामा १५ वर्षभन्दा माथिको कूल जनसंख्या १२,२६० मध्ये ९६.२० प्रतिशत तथा १५देखि ६० वर्ष समूहको कूल जनसंख्या १०,६९८ मध्ये ९५.७० प्रतिशत भन्दा बढी साक्षर रहेका छन् ।

हिमालदर्शन क्याम्पसको प्रांगणमा आयोजित सो कार्यक्रमका अतिथि प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाही, नेकपा एमाले गाउँकमिटी अध्यष जगनाथ बाँस्तोला, नेपाली काँग्रेस गाउँ कार्य समितिका अध्यक्ष निरकुमार शर्मा र नेपाल शिक्षक महासंघ, नेचासल्यान गाउँपालिकाका अशोककुमार शर्मा, शिक्षा समन्वय इकाइ प्रमुख खगेन्द्र श्रेष्ठ लगायतका वक्ताहरुले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय जनप्रतिनिधि र नागरिक सचेत भएकै कारण गाउँपालिकाले यो सफलता प्राप्त गरेको बताउँदै गुणस्तरीय शिक्षाका लागि अब सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका थिए ।

सभापतिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष बाँस्तोलाले शिक्षातर्फको पूर्वाधार विकास लगायत शैक्षिक गतिविधिको सुधारका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै साक्षर हुन बाँकी रहेका गाउँपालिकाका नागरिकहरुलाई क्रमशः अक्षरी साक्षरसँगै समयसापेक्ष रुपमा सूचनाप्रविधियुक्त साक्षर बनाउनका निम्ति आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विभिन्न शैक्षिक स्टल राखिनुका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here