सशस्त्र प्रहरीको लौकाहामा निःशुल्क स्वास्थ्य शिविर

मेवालाल यादव

frontline

नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले रौतहटको परोहा नगरपालिकामा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । परोहा नगरपालिका वडा नम्वर ४ लौकाहा स्थित माध्यमिक विद्यालयमा भएको शिविरको उद्घाटन सशस्त्र प्रहरी परिवार महिला संघको अध्यक्ष सुनिता लामिछाने अर्यालले गर्नुभएको हो । सो कार्यक्रममा बोल्दै उहाँले ग्रामिण भेगका विपन्न परिवारमा स्वास्थ्य सम्वन्धी विभिन्न समस्या रहने गरेकाले यस शिविरको आयोजना गरीएको बताउनुभयो । बिशेष गरी महिला तथा बृद्धवुद्धामा जटिल प्रकारका स्वास्थ्य समस्या रहने भएकाले यो शिविर गरीएको उहाँको भनाई छ । शिविरमा दक्ष चिकित्सकबाट निःशुल्क स्वास्थ्य परामर्श तथा औषधी बितरण भएको उहाँले जानकारी दिनुभयो । “सशस्त्र प्रहरी बल नेपालको सीमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत” नेपाल एपिएफ अस्पतालका विशेषज्ञ चिकित्सकहरुद्धारा निशुल्क स्वास्थ्य परिक्षण भएको हो । सो निशुल्क शिविरमा साधारण स्वास्थ्य परिक्षण, स्त्री तथा प्रसुती रोग, नाक कान घाँटी, दाँत, आँखा तथा अन्य रोगहरुको समेत परिक्षण गरिएको प्रस्तावित सीमा सुरक्षा गुल्म गौर का सशस्त्र प्रहरी नायब उपरिक्षक अमर लामाले बताउनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षित गरेर शिविरको आयोजना गरीएको छ । शिविरमा उल्लेखनिय मात्रामा यहाँका बासीले स्वास्थ्य परीक्षण गराएको उहाँले जानकारी दिनुभयो । गाँउमा निःशुल्क स्वास्थ्य शिविर हुँदा स्थानिय भने हर्षित भएका छन् । परोहा नगरपालिकाको तथा प्रादेशिक अस्पताल गौरको सहकार्यमा शनिवार विहान ८ बजे देखि भएको स्वास्थ्य शिविर दिउँसो ३ बजे सम्म संचालन भएको थियो । परोहा नगरपालिकाको नगर प्रमुखको अध्यक्षतामा सुरु भएको स्वास्थ्य शिविरको उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपा प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठ, नेपाली सेनाको कर्णेल गंगाबहादुर विष्ट, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय सिंह सहितका एपिएफ अस्पतालका चिकित्सकहरु सहित स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । विसं २०५९ साल असार १७ गते स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघले निःस्वार्थ सेवा भावका साथ समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको छ ।सिमान्तकृत तथा पिछडीएका क्षेत्रका बालबालिकाहरुको निःशुल्क अध्ययन, जेहेन्दार छात्रछात्राहरुलाई छात्रबृत्ति प्रदान, विपद् प्रकोप पिडीतहरुलाई राहत वितरण, देशका विभिन्न ठाउँहरुमा स्वास्थ्य शिविर संचालन, राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीका श्रीमतीहरुलाई स्वरोजगारमूलक तालिम प्रदान, जनचेतनामुलक कार्यक्रम, रक्तदान लगायतका कार्यक्रम सशस्त्र प्रहरी परिवार महिला संघले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here