सर्वोच्चको विवादलाई सरकारले टुलुटुलु हेरेर बसेको छैन : कानुन मन्त्री बडू

२७ कार्तिक, काठमाडौं । कानुन मन्त्री दिलेन्द्र बडूले सर्वोच्च अदालतमा तीन सातादेखि देखिएको विवादलाई सरकारले टुलुटुलु हेरेर नबसेको बताएका छन्। 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको शुक्रबार बत्तीसपुतलीमा बसेको बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्। 

frontline

‘अदालतमा देखिएको विवाद छिटो टुङ्गियोस् भन्ने चाहना सरकारले लिएको छ। न्यायपालिकाको विवादमा हामी पसेर हस्तक्षेप गर्न मिल्दैन’, उनले भने, ‘संविधानले तोकेका सीमा हामीले सम्झिएका छौँ।

न्यायपालिकाभित्रै सबै पक्ष बसेर यसलाई छिटो टुङ्ग्याउनुपर्छ। जनताको न्याय प्रक्रिया कुण्ठित हुँदै गएको छ। त्यसो हुँदा छिटो बेन्च बसेर फैसला प्रक्रिया अघि बढोस्।’

उनले न्यायपालिकाको समस्यालाई लिएर सरकार टुलुटुलु हेरेर नबसेको पनि उनले बताए। ‘न्यायपालिकाको समस्यालाई लिएर हामी टुलुटुलु हेरेर बसेका छैनौँ।

सरकार छिटो समाधान होस भन्ने पक्षमा छ’, उनले भने, ‘नजिकबाट हेरिरहेका छौँ। प्रधानन्यायाधीशले राजीनामा दिनुस् भन्नु पनि एक पक्षीय हुन्छ। हामी यसको समाधान बहुत जरुरी छ भन्नेमा छौँ।’

बडूले अदालतमा अप्रिय समस्या आउनुअघि नै यो समस्या समाधान हुनुपर्ने मत राखे। ‘जनताको सरोकारको विषयमा अप्रिय समस्या आउनुअघि नै समाधान हुनुपर्छ’, उनले भने, ‘त्यहाँ बेन्च र बार छन्। उनीहरुबीच संवाद आवश्यक छ।’

उनले आफूले मिल्ने जति पहल गरिरहेको पनि बताए। ‘मैले जे बुझेको छु पहल गरिरहेकै छु। यसलाई छिटो समाधान गरियोस् भन्ने मत हो’, उनले भने, ‘छिटो समाधान गरियोस्। सरकारले यसलाई हेरिरहेको छ। समाधानका लागि आग्रह गरिरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here