समन्वय समितिले बनायो १६ वटा वडा कार्यालय
जिल्ला समन्वय समिति कास्कीले आफ्नै लगानीमा जिल्लाका १५ वटा वडा कार्यालय भवन निर्माण गरेको छ ।
अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडा भवनहरु समन्वय समितिले निर्माण गरेको हो । समन्वय समिति र सम्बन्धित गाउँपालिकाको संयुक्त लगानीमा भवन बनाईएको समन्वय प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार मादीका ९, अन्नपूर्णका ६ र माछापुच्छ्रेको एउटा वडा भवन पालिका र जिल्ला समन्वय समितिको संयुक्त लगानीमा निर्माण गर्न लागिएको हो । मादीका ४ र १२ नम्बरको भवन पूरा भैसकेको छ भने ५, ६, ७, ८ र ९ नम्बरको कार्यालय निर्माणाधीन छन् । ३ र १० नम्बर वडा पनि निर्माणको चरणमा अघि बढिसकेको गाउँपालिकाका प्रबक्ता लालबहादुर गुरुङले जानकारी दिए । ु
यस्तै, अन्नपूर्ण गाउँपालिकाका ३, ४, ५, ७, ८ र ९ नम्बर वडा भवन निर्माणाधीन छन् । ६ र ११ मा पनि माग छ । माछापुच्छ«ेको ९ नम्बर वडा भवन निर्माण सकिएर उद्घाटन हुन बाँकी छ । समन्वय समितिको मौज्दात कोषबाट भवन निर्माण गरिएको क्षेत्रीले जानकारी दिए । यी भवन बनाउँदा समन्वय समितिको ६० र सम्बन्धित पालिकाको ४० प्रतिशत लगानी हुन्छ ।
तत्कालीन जिल्ला विकास समिति हुँदैमा ३० करोड रुपैयाँ मौज्दात कोषको रकम थियो । त्यही रकम समन्वय समितिले पालिकालाई हस्तान्तरण गरेको हो । निर्देशिका अनुसार पालिकाका प्रशासकीय भवन, वडा भवन, खानेपानी संरचना, शिक्षा पूर्वाधार र स्वास्थ्य संरचना निर्माणका लागि मात्रै खर्च गर्न पाइन्छ ।
‘सबै साझेदारीमा गर्नुपर्छ । हाम्रो प्राथमिकता वडा भवनमै हो । अहिले भाडामा बसिरहेका वडा कार्यालयहरुलाई आफ्नै भवन दिनुपर्छ भनेर लागेका छौं,’ क्षेत्रीले भने, ‘यसबाहेक खानेपानी र विद्यालयमा पनि लगानी भएको छ ।’
अहिले माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपाका ब्यवस्थित भवन छैनन् । सबै नयाँ बनाउने चरणमा छन् । सबै पालिकाको भवन बनाउन थप २ करोडका दरले उपलब्ध गराउने उनको भनाइ छ । पोखरा महानगरपालिकालाई भने ८ करोड दिने तयारी छ ।
मौज्दात कोषबाहेक समन्वय समितिको आफ्नै आन्तरिक आम्दानी पनि छ । लिजमा दिएको जग्गा र सटरभाडाबाट बार्षिक १ करोड भन्दा बढी आम्दानी भैरहेको छ । सबै आम्दानी पालिकामा पठाउने क्षेत्रीको भनाई छ । कास्की भर ५ पालिका र ७२ वटा वडा छन् ।
प्रतिक्रिया दिनुहोस्