सप्तरीमा एकै दिन ६५ जना संक्रमित,१ को मृत्यु
४ माघ, सप्तरी । सप्तरीमा एकै दिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको कोरोना ल्याबमा ७५ जनाको नमुना परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेमा अधिकांश न्यायालय र सुरक्षा निकायका व्यक्ति छन् । उनीहरु होम आइसोलेसनमा बसेको यादवले बताए ।
योसँगै कोरोनाको तेस्रो लहरमा जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका १ बस्ने ७५ वर्षीया महिला छन् ।
१ माघमा ज्वरो आएपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरी २ माघमा नमुना संकलन गरिएको थियो ।
३ माघमा रिपोर्ट पोजेटिभ आएसँगै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मृतक महिला कोरोनाविरुद्वको खोप समेत लिएकी थिइन् । यद्यपि उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिइन् ।
प्रतिक्रिया दिनुहोस्