सदैव नेपालीको हितका लागि सक्रिय जापानी नागरिक योशिहारु
फ्रन्टलाइन खबर, जापान, कार्तिक । जापानलाई रोजगारीका निम्ति अत्यन्त आकर्षक गन्तब्यको रुपमा हेर्ने गरिन्छ । जापानको श्रम बजारलाइ लक्षित गरेर चीन ,भियतनाम तथा इन्डोनेशियामा उल्लेख्य रुपमा रोजगारी सम्बन्धि तालिम केन्द्र तथा वैदेशिक रोजगार कम्पनीहरु खुलेका छन् । जापानी कम्पनी र नागरिकहरुलाई नेपालको बारेमा पनि थाहा छ तर जापानमा नेपालीहरुको क्षमता र योग्यताबारे अवगत गराउन सकिएको छैन । त्यस कारण पनि श्रम भिषामा भियतनाम, चिन र इन्डोनेशिया लगायतका मुलुकबाट नागरिकहरु जापान लगिने गरिएको छ ।
प्रशिक्षार्थी कामदार भिषामा जापान गएका कुल ३ लाख ७० हजार मध्ये भियतनामी मात्रै २ लाख ८ हजार रहेका छन् । जबकी नेपालीको संख्या जम्मा ४ सय ४९ मात्रै छ । त्यस्तै तोकुतेइगिनोउ भिषाका लागि सबैभन्दा पहिले एमओयु गरेको नेपालबाट जम्मा ३ सय २९ जना जापानमा जाँदा भियतनामबाट १८ हजार १ सय ९१ जना जापान पुगेका छन् । तोकुतेइगिनोउ भिषामा जापानमा जम्मा २९ हजार १ सय ४४ जना रहेका छन् ।
उल्लेख्य रुपमा जापान जान चाहाने कामदार नेपालमा हुँदाहुँदै पनि नेपाल र नेपालीको बारेमा जापानी कम्पनीलाई आवश्यक जानकारी गराउन नसक्दा भियतनाम लगायतका देशबाट कामदारहरु लैजाने गरिएको छ । जापानी कम्पनीका अधिकांश मागपत्रमा भियतनामी कामदार खोजेको पाइन्छ । यसर्थ जापानमा रहेका नेपालीहरुले उचित रोजगारीको अवसर पाउन सकिरहेका छैनन् । यो सोचनिय विषय हो ।
नेपालीहरुको दृढता, इच्छा र क्षमताबारे जापानी कम्पनी एवम् नागरिकलाई जानकारी गराई यो समस्याको समाधान गर्नु जरुरी देखिन्छ ।
तर यस विषयमा नेपाल सरकारले तदारुकता देखाउन सकेको छैन । जापान सरकारले निति तयार गरि अधिकांश जिम्मेवारी निजि क्षेत्रलाई सुम्पिसकेको छ तर नेपाल सरकार जापान सरकारको निर्णय कुरेर बसेको छ । यसैबिच एकजना जापानी नागरिक भने नेपालीहरुको हितमा विगत केही वर्षदेखि निरन्तर लागिरहेका छन् ।
जापानी संसदका पुर्व सदस्य समेत रहेका कोमियामा योशिहारुले आफ्नो संस्था आइ एच एन ओ मार्फत एन आर एन ए जापान र जापान स्थित नेपाली राजदुतावाससंगको सहकार्यमा नेपालीहरुको हित खातिर विविध कार्य गर्दै आएका छन् । जस मार्फत जापानमा अध्ययन गरिरहेका २ सय ६४ जना नेपाली विद्यार्थीहरुले मासिक ३० हजार एन बराबरको छात्रवृत्ति पाइरहेका छन् । तिन पटक नेपाल भ्रमण गरिसकेका योशिहारु नेपालीहरुको संवाद कला लगायत अन्य विविध कार्यदक्षतामा आधारित भिडियो सामाग्री बनाई प्रबद्र्धनमा समेत जुटिरहेका छन् । उनि जापानमा रहेका नेपालीहरु माझ निकै परिचित छन् ।
प्रतिक्रिया दिनुहोस्