सडक, स्वास्थ्य र शिक्षामा लगानी बढाउँदै गलकोट नगरपालिका
गलकोट नगरपालिकाले चुनावको बेलामा गरेका प्रतिबद्धता अनुसार सडक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ । ‘उत्पादनमा आत्मनिर्भर गलकोट, समृद्ध गलकोट’ भन्ने नारासहित नगरले पाँच क्षेत्रलाई विकासको मुख्य आधार मानेको छ ।
गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले चुनावका बेला गलकोटलाई सेवा र उत्पादनको केन्द्र बनाउने वाचा गरेका थिए। त्यही वाचा पूरा गर्ने गरी नगरले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिएको छ ।
सडकः सबै वडामा सडकको पहुँच
चुनावी प्रतिबद्धता अनुसार नगरले सबै ११ वटै वडामा सडक सुविधा पु¥याएको छ। ग्रामीण सडक स्तरोन्नति र नियमित मर्मतलाई तीव्रता दिइएको छ। उत्पादन हुने क्षेत्रलाई बजार र गलकोट नगर हस्पिटलसँग जोड्न सडक सञ्जाल विस्तार गरिएको छ ।
गलकोट-५ सिमलबोट होमस्टे जाने पदमार्गलगायत १० भन्दा बढी पदमार्ग सम्पन्न भइसकेका छन् । सडक सहज भएपछि किसानले उत्पादन सजिलै बजार पु¥याउन र बिरामी समयमै अस्पताल पुग्न सकेको स्थानीय बताउँछन् ।
स्वास्थ्यः गलकोट नगर हस्पिटललाई स्तरोन्नति गर्ने पहल
स्वास्थ्य क्षेत्रलाई नगरले उच्च प्राथमिकतामा राखेको छ। चुनावी प्रतिबद्धता अनुसार गलकोट नगर हस्पिटलको सेवा विस्तार र पूर्वाधार विकासका लागि नगरले धेरै पहल गरेको छ ।
हस्पिटलमा नयाँ उपकरण थप, आकस्मिक सेवा प्रभावकारी बनाउने र सेवा समय बढाउने काम भइरहेको छ । नगरले हस्पिटललाई जिल्लाकै नमुना सामुदायिक अस्पताल बनाउने लक्ष्य लिएको छ ।
तर स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौती दक्ष जनशक्ति टिकाउनु रहेको छ। डाक्टर, नर्स र प्राविधिकलाई गलकोटमा टिकाउन सकस भइरहेको नगरले स्वीकारेको छ। यसका लागि नगरले आवास सुविधा, प्रोत्साहन भत्ता र निरन्तर तालिमको व्यवस्था गर्ने नीति ल्याएको छ ।
यसबारे नगर प्रमुख भरत शर्मा गैरेले भने, ‘हामीले गलकोट नगर हस्पिटललाई गुणस्तरीय बनाउने गरी बजेट र जनशक्ति परिचालन गरेका छौं। तर राम्रा डाक्टर र नर्स टिकाउन अझै चुनौती छ। स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार हो। त्यसैले हामीले आवासदेखि प्रोत्साहनसम्मको प्याकेज ल्याएर भए पनि जनशक्ति टिकाउने कोसिस गरिरहेका छौं। सडक र स्वास्थ्यमा लगानी नगरी समृद्ध नगर बन्दैन ।’
कृषि, पर्यटन र शिक्षामा पनि जोड
नीति तथा कार्यक्रममा ‘एक घर एक करेसाबारी’, युवा लक्षित कृषि व्यवसाय र सहकारीमार्फत दूध, मासु र तरकारीको बजारीकरणलाई प्राथमिकता दिइएको छ ।
पर्यटनका लागि धार्मिक तथा सांस्कृतिक क्षेत्र जोड्ने पदमार्ग र होमस्टे प्रवद्र्धन भइरहेको छ । शिक्षामा सबै सामुदायिक विद्यालयमा डिजिटल कक्षा, प्राविधिक शिक्षा र विपन्न विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
सुशासन र पारदर्शिताले बढायो विश्वास
विकासका कामसँगै नगरले सुशासनलाई पनि पहिलो शर्त बनाएको छ। सार्वजनिक खर्चको विवरण अनलाइन राख्ने, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ नियमित गर्ने नीतिले गर्दा बागलुङ जिल्लामै पहिलो पटक बेरुजु शून्य नगर बन्न सफल भएको छ ।
नागरिक वडापत्र, अनलाइन सेवा र गुनासो सुनुवाइ प्रणाली प्रभावकारी बनाएपछि सेवा प्रवाह छिटो भएको छ ।
स्थानीयले पनि नगरले गरेका कामबाट राहत पाएको बताएका छन्। सबै वडामा सडक पुगेपछि आवतजावत सहज भएको, हस्पिटलको सेवा सुधार भएपछि बाहिर रिफर कम भएको र विद्यालयमा प्रविधि भित्रिएपछि पढाइ राम्रो भएको उनीहरूको अनुभव छ ।
विकाससँगै सुशासनको अभ्यासले गलकोट नगरपालिका अहिले जिल्लाकै नमुना बन्ने दिशामा अघि बढेको छ। चुनावी प्रतिबद्धता अनुसार काम हुँदा जनताको विश्वास पनि बढ्दै गएको छ ।






प्रतिक्रिया दिनुहोस्