संविधानको ६ वर्ष पूरा : गरिबलाई केही पनि भएन
काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक नागरिकका प्रतिनिधिद्वारा संविधान बनेको ६ वर्ष पूरा भएको छ । संविधानको व्यवस्थाअनुसार देश सङ्घीयतामा गएको छ ।
नागरिकले गाउँघरबाटै सेवा सुविधा पाउन थालेका छन् । तर अझै पनि भनेजस्तो भएको छैन । यस अवधिमा नागरिकले खोजेको के भएन त ? केही नागरिकको भोगाइ र अनुभव जस्ताको तस्तै :
हामी जस्तालाई यो संविधानले केही पनि दिएन
मेरो उमेर ३५ वर्ष भयो । घर ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ । मेरो किराना पसल छ ।
२०६२/६३ सालको आन्दोलनमा म पनि झण्डा बोकेर सहभागी भएको हो । देशमा नियम कानुन भएन, विकास भएन, मान्छेले काम गरी खान पाएनन् भाँडभैलो भयो, गरी खाने वातावरण भएन भनेर म पनि आन्दोलनमा गएको हो ।
समय लगाएरै भए पनि देशमा संविधान आयो । अब संविधान आएपछि त पक्कै पनि हामी जस्तो सानोतिनो काम गरी खाने मान्छेलाई अलि सजिलो होला । काम गरी खान पाइएला भनेको त्यस्तो भएन ।
सोचेको जस्तो केही भएन । काम गरी खान पनि धेरै गाह्रो भयो । पैसा नखुवाइ केही काम हुँदैन । यो संविधान आएर हामीलाई केही फरक परेको छैन । झन् झन् यसले त हामी जस्ता काम गरी खानुपर्ने मान्छेले पाइलैपिच्छे कर तिर्नु परेको छ । हामी जस्तालाई यो संविधानले कही पनि दिएन ।
गरिबलाई केही पनि भएन
मेरो उमेर ३७ वर्ष भयो । काम भने मोटरसाइकल वर्कशपमा काम गर्ने मिस्त्री । खासमा म त यो संविधान भनेको पनि राम्रो बुझ्दिनँ । नियम कानुनको कुरो होला । तर, हेर्नुस् हामीलाई यो संविधान भन्ने चिज आए पनि केही छैन नआए पनि केही छैन ।
हामी काम गरी खाने मान्छेलाई काम नगरि कसैले खान दिने होइन । एकछिन काम गरेन भने साहुले हप्काउँछ । अब के हुनु र ! महँगी यस्तो छ । केही चिज छोइ साध्य छैन । गरिबलाई कसैले केही हेरेको होइन । त्यसैले संविधानले हामी जस्तो गरिबलाई केही हुने गर्ने होइन ।
नेताहरुका लागि मात्र भयो
म काठमाण्डौको अनामनगरमा खाजा पसल चलाउँछु । प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रले पनि हामीलाई केही फरक परेको छैन । पहिले मेरा दाइ लगायत हामीहरू सबै यसकै लागि लडेको हो । तर, अहिले सम्झँदा भने पछुतो लाग्छ, किन लडियो भनेर ।
गणतन्त्र, संविधान जे-जे आए पनि त्यो नेताहरुका लागि मात्र भयो । हामी जस्तो साधारण मान्छेका लागि भएन । झन् अहिले त चेलीबेटी असुरक्षित भए, महँगी झन् झन् बढ्यो, काम गरी खानेका लागि झन् झन् अप्ठेरो भयो ।
गणतन्त्रमा त सधैं पुरानै अनुहार । हाम्रा बाले पनि त्यही नेताको नाम लिनुहुन्थ्यो, हामी यिनै नेताको नाम लिन्छौँ, अब त्यस्तै परे भोलि छोराले पनि यही नेताको नाम लेला जस्तो छ । अब यस्तोमा गणतन्त्र आए पनि, संविधान दिवस आए पनि केही हुनेवाला छैन ।
बाटोघाटोको विकास भएजस्तो देखिन्छ, अरु भएन
मेर ४० वर्ष । काम भने सामान्य पुरेत्याइँ हो । अहिले पनि यहाँ भद्रकाली मन्दिरमा कोही पूजा गराउन आउँछन् कि भनेर बसेको छु । संविधान आएपछि बाटोघाटोको केही विकास त भएजस्तो देखिन्छ । तर, अरु कुरामा नागरिकलाई भने यसले खासै केही फरक परेको छैन्।
झन् हामीजस्ता गरी खाने वर्गका मान्छेका लागि त यसले केही नै फरक परेको छैन । केही यसो रोजगारी पनि त दिनुपर्ने हो नि सरकारले । सरकारले हामी जस्ता मान्छेलाई यसो केही रोजगारीको व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो । तर, त्यस्तो केही भएन ।
मकै पोलेर खानेलाई संविधान आए पनि के नआए पनि के
उमेर ७० वर्ष । काम भने मकै पोलेर बेच्ने हो । यही काम गर्दा पनि खान पुग्दैन ।
संविधान भनेको खास थाहा पनि छैन । सुनेको त हो । तर, संविधान जे-जे आए पनि गरिब मरेको मर्यै । धनी जागेको जाग्यै । यो भनेको गरिब मार्ने धनीलाई दिने रहेछ ।
अब हामी मकै पोलेर खानेलाई संविधान आए पनि के नआए पनि के । गरिबलाई कसैले केही हेर्ने गर्ने होइन । यो सबै गरिब मार्नेहरू हुन जे-जे भए पनि । गरिबलाई यो संविधानले पनि केही हुँदैन खान दिँदैन ।
नेताहरुलाई मात्र राम्रो भयो
उमेर भने ५० वर्ष भयो । म तरकारी बेच्ने काम गर्छु ।
धेरै पढे लेखेको छैन । त्यसैले धेरै कुरा थाहा छैन । तर, यो संविधान आएपछि नागरिकलाई जे-जे हुन्छ भनिएको थियो त्यो भने केही भएन ।
नेताहरुले पहिले गरिबलाई राम्रो हुन्छ भने । तर, पछि केही भएन । खाली नेताहरुलाई मात्रै राम्रो भयो । हामी गरिबलाई केही राम्रो भएन । तरकारीको भाउ बढेर अलिअलि भएको पनि बेच्न सकिँदैन । गरी खान गाह्रो छ । काम छैन । गरेको सानो काम बाट पनि त्यति पैसा आउँदैन । यो संविधानले हामीलाई केही गरेको छैन ।
जुन आशा थियो, त्यो भएन
उमेर ५५ वर्ष भयो । काम भने सामान्य रोजगारी र किराना पनि । हेर्नुस् यो संविधान र राजनीतिले फाइदा दिने भनेको नेताहरुलाई मात्रै हो । यो देशमा सर्वसाधारणलाई केही आए पनि कोही आए पनि केही हुनेवाला देखिएन ।
नेताहरु मोटाउने आफ्नो भुँडी भर्ने मात्र हो । नागरिकका लागि कसैले केही गर्ने देखिएन । जुनसुकै संविधान र व्यवस्था आए पनि तल्लो वर्गलाई भने केही नहुने देखियो नेपालमा ।
यो सबै नेताले आफ्नो फाइदाका लागि गर्ने र नागरिक बेवकुफ बनाउने कुरो रहेछ । जुन आशाका साथ संविधान आएको थियो त्यसले पनि केही दिन र गर्न भने सकेन ।
के संविधानले दिने भनेको यही हो त ?
उमेर २२ वर्ष भयो । म गृहिणीका साथै डेरी पसल पनि चलाउँछु । संविधान आउनु अगाडि र आएपछि पनि नेताहरुले जुन आश्वासन र आशा देखाएका थिए त्यो भने केही पूरा भएन ।
संविधानले सामान्य नागरिकलाई र साधारण काम गरी खाने मान्छेलाई जुन एउटा विश्वास दिनुपर्ने थियो त्यो केही दिएन । आफ्नो काम गरी खान पनि झन्झट र हैरानी बेहाेर्नु परेको छ, के संविधानले दिने भनेको यही हो त ?
महँगी बढेको छ, व्यापारमा जताततै कर तिर्नु परेको छ । संविधानले त कमजोर मान्छेलाई आर्थिक रुपमा सबल बनाउनु पर्नेमा यसले त नेताहरुलाई भ्रष्टाचार गर्न र अकुत सम्पत्ति कमाउँनमा पो मद्दत गर्यो । त्यस हिसाबले संविधानले जे जति दिनुपर्ने हो केही दिएन, गरेन ।
जे-जे आए पनि गरिब दुःखीलाई केही नहुने रै’छ
मेरो घर कपनमा हो । म पेसाले ट्याक्सी चलाउँछु । हामी ट्याक्सी ड्राइभरलाई संविधान आए पनि जे आए पनि केही भएन ।
हेर्नुस् यत्रो लकडाउन भयो । कसरी खाने भन्ने चिन्ता भयो । भोक भोकै परियो पनि त्यसबेला कसैले आएर एकछाक खुवाएन । पछि मात्रै अरुले सहयोग गरे ।
अहिले पनि काम खासै छैन । सरकारले गाह्रो साँघुरो केही हेर्दैन । यो सब नेतालाई कमाउने र भुँडी भर्ने मात्र रहेछ । त्यसैले संविधान संविधान जे-जे आए पनि गरिब दुःखीलाई केही नहुने रैछ । संविधानले गरिब दुःखीलाई नहेर्दो रहेछ ।
गृहिणीलाई त झन् केही पनि दिएन
म गृहिणी । गृहिणीका हिसाबले भन्दा संविधानले केही पनि दिएन । केही भएन । तरकारी किन्न गयो त्यस्तै महँगो छ । दाल त्यस्तै जे किन्न गयो महँगो ।
महँगी कसैले नियन्त्रण गर्ने होइन । खाली नेतालाई घुस खान र कमाउन मात्र आएको रैछ मैले बुझेको संविधान त । गरिब र सामान्य नागरिकलाई केही नगर्ने अनि नेताहरुलाई भने महँगो उपचार र जति पैसा खाँदा पनि कसैले केही नगर्ने कुरा पो दियो त संविधानले । अब भन्नुस् यो संविधानले के दियो भन्नु ! जे दियो नेतालाई मात्रै दियो । नागरिकलाई केही दिएन ।
प्रतिक्रिया दिनुहोस्