श्रीमती हत्या गर्न सुपारी दिए, आफैं मारिए

श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका ६० वर्षीय चुडामणि कँडेल आफैंले सुपारी दिएका व्यक्तिहरूबाट मारिएका छन् ।

२१ वैशाख, धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मा श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका ६० वर्षीय चुडामणि कँडेल आफैं मारिएका छन् ।

frontline

प्रहरी अनुसन्धानका क्रममा २७ चैतमा आफ्नै घरको शौचालयमा घाँटी डोरीमा कस्सिएको अवस्थामा फेला परेका कँडेलको हत्या भएको खुलेको हो ।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का अक्कल बहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल तामाङले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको स्वीकारेको प्रहरी बताउँछ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी दिपेन्द्र शाही उनीहरूले पहिले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको तर, सफल नभएपछि उनकै हत्या गरेको खुलेको बताए ।

प्रहरीका अनुसार चुडामणिले श्रीमतीको हत्याका लागि प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिएका थिए । जग्गा बिक्री गरेर उनले आफ्नै खेतबारीमा खेती गरिरहेका प्रजालाई त्यो रकम दिएका थिए ।

रकम पाएपछि प्रजाले हत्या योजनामा पृथलाल र सञ्चलाललाई पनि समावेश गराएका थिए । उनीहरूले सुस्मिताको हत्याको लागि पटक–पटक प्रयास गरे पनि सफल भएनन् । त्यसपछि चुडामणिले आफूले दिएको पैसा फिर्ता गर्न ताकेता गरिरहेका थिए ।

‘पैसा लिएर खर्च गरिसकेका अभियुक्तहरूले सुस्मिताको हत्या गर्न त सकेनन् नै, पैसा पनि फिर्ता नदिएपछि चुडामणिकै हत्या गर्ने योजना बनाएछन्’ शाहीले भने, ‘त्यसपछि चैत २४ गते राति चुडामणि घरभित्रै भएका बेला कोदालोको बीँडले हानेर हत्या गरेको देखिएको छ ।’

त्यतिबेला उनीहरूले चुडामणिको घाँटीमा डोरी समेत खसेका थिए । त्यसपछि तिनै जना पृथ्वी राजमार्ग हुँदै भागेको खुलेको थियो ।

बचेको एक लाख बरामद

घटनापछि अनुसन्धानको क्रममा अभियुक्तहरूमध्ये अक्कलबहादुर प्रजाको कोठाबाट लुकाइराखेको अवस्थामा एक लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । फरार भएपछि स्थानीय बजारबाट तीनै जनालै एकै किसिमको जुत्ता किनेको समेत प्रहरीले पत्ता लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालका अनुसार, घटनास्थलमा पुग्ने वित्तिकै शव क्षतविक्षत अवस्थामा देखिएकाले हत्या भएको हुनसक्ने शंका गरेर अनुसन्धान थालिएको थियो ।

त्यसक्रममा मृतक कँडेल र उनकी श्रीमती सुस्मिता सिलवाल बीच सुमधुर सम्बन्ध नरहेको खुलेको थियो । प्रायः उनी सीतापाइलाको घरतिर गएर बस्थिन्, एकैघरमा हुँदा पनि बोलचाल हुन्थेन ।

कँडेल मारिनु दुईसाता अघि मात्र उनी गाउँमा आएर १० दिन बसेर घटना भएकै दिन फर्किएकी थिइन् । त्यही कारण पनि स्थानीयले श्रीमतीमाथि पनि अनुसन्धान गर्न भनेका थिए ।

तर, जाँचका क्रममा कँडेलकै अर्को आपराधिक योजनाको पटाक्षेप भयो । अहिले कँडेलको श्रीमतीले प्रहरी कहाँ उनीहरूविरुद्ध जाहेरी दिएकी छन् भने पोष्टमार्टपछि परिवारले अन्त्येष्टि गरेका छन् ।

कँडेल गाउँमा खेतीकिसानी गर्थे । छोरा क्यान्डामा थिए भने छोरी काठमाडौंमा बसेर पढ्दै थिइन् ।

अपराध |चुडामणि कँडेल हत्या प्रकरण |नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here