शिक्षक महासंघले भन्यो– जुनसुकै बखत आन्दोलन हुनसक्छ, तम्तयार रहनू

News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपाल शिक्षक महासंघले शिक्षा विधेयकको प्रतिवेदनमा पुरानै सहमति र शिक्षक–कर्मचारी विरोधी प्रबन्ध नसमेटिए आन्दोलनको चेतावनी दिएको छ।
- महासंघले गत चैतमा काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो र नयाँ प्रतिवेदनले माग पूरा नगरे थप ठूलो आन्दोलनको सम्भावना रहेको जनाएको छ।
- प्रतिवेदनले शिक्षकका माग सम्बोधन नगरेको महासंघको ठहर छ र उनीहरूले आन्दोलनको लागि तयारी गर्न शिक्षक–कर्मचारीलाई आह्वान गरेका छन्।
६ जेठ, काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी शिक्षा विधेयकको प्रतिवेदन तयार नभए झन् ठूलो आन्दोलनका लागि सडकमा उत्रिने चेतावनी दिएको छ ।




महासंघले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अब समितिमा हुने छलफलबाट शिक्षक–कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतमा भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी सुझाव सहितको प्रतिवेदन तयार हुन आवश्यक छ । यस कार्यमा अन्यथा भए नेपाली शिक्षक–कर्मचारी २०८१/०८२ को भन्दा पनि ठूलो र बलियो आन्दोलन लिएर सडकमा आउने छन् भन्ने कुरा नबिर्सिन सम्बन्धित सबैमा आग्रह गर्दछौं ।’
शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले गत चैतमा काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो । वैशाख १७ गते सरकारसँग नौ बुँदे सहमतिसँगै आन्दोलन स्थगित भएको थियो ।
तर शिक्षक महासंघसँग भएका सहमति शिक्षा विधेयकको प्रतिवेदनमा नसमेटिने संकेत पाएपछि महासंघले कडा आन्दोलनको चेतावनी दिएको हो । आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेको थियो । तर प्रतिवेदनले शिक्षकका माग सम्बोधन नगरेको महासंघको ठहर छ ।
महासंघले आन्दोलन जुनसुकै बेला सुरू हुनसक्ने भन्दै त्यसका लागि तम्तयार रहन शिक्षक तथा कर्मचारीहरुलाई आह्वान समेत गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आवश्यकता अनुसार जुनसुकै बखत आन्दोलन हुन सक्ने भएकाले त्यसका लागि तम्तयार रहन सबै शिक्षक–कर्मचारी साथीहरुमा अनुरोध गरिन्छ ।’
प्रतिक्रिया दिनुहोस्