शताब्दी पुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने
२४ मंसिर, दैलेख । मध्यपश्चिम विश्वविद्यालयले शताब्दी पुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने भएको छ।
विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले देशको भाषा, कला, साहित्य र इतिहासको क्षेत्रमा पुर्याएको विशिष्ट योगदान स्वरुप जोशीलाई मानार्थ महाविद्यावारिधिको उपाधिबाट सम्मान गर्ने निर्णय गरेको हो।
सोही निणर्यबमोजिम सोमवार विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र शताब्दी पुरुष जोशीज्यूबीच जोशीकै निवास ललितपुरमा भेटघाट भएको थियो।
भेटका क्रममा विश्वविद्यालयका उपकुलपति सिंहले शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने औपचारिक पत्र हस्तान्तरण गरेका छन्।
भेटका क्रममा पूर्व डिआईजी एवम् मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहको समेत सहभागिता थियो।
उपकुलपति सिंहका अनुसार निकट भविष्यमै दिक्षान्त समारोह आयोजना गरी जोशीलाई महाविद्यावारिधिको उपाधि प्रदान गरिनेछ।
उपकुलपति सिंहका अनुसार कर्णालीको लोक संस्कृति, लोकवार्ता र इतिहासको अध्ययन, अनुसन्धानमा सहयोग पुर्याउने अन्य चार जनालाई पनि विश्वविद्यालयले सम्मान गर्नेछ।
प्रतिक्रिया दिनुहोस्