व्यवसायिक प्रयोजनमा खपत हुने ग्यासको प्रति सिलिन्डर २४ सय हाराहारी पुग्ने निगमको अनुमान

२७ असार, काठमाडौं । खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठित उपसमितिले व्यवसायिक प्रयोजनका लागि परल मूल्यमै बिक्री गर्न आयल निगमलाई सिफारिस गरेको छ ।

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रको संयोजकत्वमा गठित उपसमितिले घरायसी उपभोक्ताका लागि हालकै मूल्य र व्यवसायिक खपतका लागि परल मूल्यमै ग्यास बिक्री गर्न सिफारिस गरेको आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।

frontline

उपसमितिले बुधबार निगमलाई प्रतिवेदन बुझाएको र उक्त प्रतिवेदनले ग्यासमा तत्कालीन र दीर्घकालीन गरेर दुई थरी सुझाव पेश गरेको थानीले बताए ।

‘उपसमितिको सुझावले पहिलो व्यावसायिक प्रयोजनका लागि परल र घरायसी उपभोक्ता प्रयोजनका लागि हालकै मूल्यमा ग्याँस बेच्न सिफारिस गरेको छ,’ उनले भने, ‘हामी व्यावसायिक प्रयोजनका लागि परलमा पनि केही नाफा खाएर ग्यास बेच्ने योजनामा छौं ।’

हाल निगमलाई एक सिलिन्डर ग्यासमा २ हजार २७१ रुपैयाँ लागत परेको र त्यसमा केही नाफा खाएर बेच्दा मूल्य बढ्न सक्ने कार्यकारी निर्देशक थानीले बताए ।

बोर्ड बैठकमा छलफल हुन बाँकी रहेको प्रतिवेदनले सिफारिस गरेअनुसार नै मूल्य निर्धारण भए होटल, रेष्टुराँ, क्याटरिङ लगायतका प्रयोजनमा खपत हुने प्रतिसिलिन्डर ग्यासको मूल्य २ हजार ४ सय रुपैयाँ हाराहारी पुग्ने निगमको अनुमान छ । तर, यसबारे व्यवसायीहरुसँग छलफल गर्न बाँकी रहेको उनले बताए ।

तत्कालका लागि उपभोक्तालाई हालकै मूल्य र व्यवसायीक प्रयोजनका लागि लागतमै ग्याँस बिक्री गर्न सिफारिस गरेको ग्याँसबारे अध्ययन उपसमितिका सदस्य एवं आयल निगमको खान पकाउने ग्यास तथा हवाइ इन्धन विभाग प्रमुख नेत्रप्रसाद काफ्लेले बताए ।

‘उपसमितिले तत्कालका लागि २ थरी मूल्य र दीर्घकालका लागि परल मूल्यमै ग्याँस बिक्री गरेर राष्ट्रिय परिचय पत्रका आधारमा अनुदान दिन मिल्ने समूहलाई बैंकमा अनुदान फिर्ता दिने उल्लेख छ,’ काफ्लेले भने, ‘त्यसका लागि ग्याँस उत्पादक उद्योग र बिक्रेतालाई नै जिम्मेवार बनाइने छ ।’

प्रतिवेदनले औद्योगिक प्रयोजनका लागि निश्चित उद्योग तोक्ने वा सबै उद्योगलाई कुल उत्पादनको १५ प्रतिशत उत्पादन व्यावसायिक प्रयोजनका लागि अनिवार्य गर्न पनि सुझाइएको छ ।

यस्तै प्रतिवेदनले व्यावसायिक प्रयोजनको सिलिन्डर आवश्यकता र मापदण्डका आधारमा ठूलो बनाउन सकिने पनि सुझाएको छ । उपसमितिले फरक-फरक प्रयोजनका लागि ग्याँसको सिलिन्डरको रङ्ग फरक बनाउन सकिने पनि सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here