वृद्धभत्ता पाउने उमेरमा नागरिकता
बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेती नदीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ ।
नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो ।साइपाल गाउँपालिका-५ मा पर्ने बलौडीकी स्थानीय हुन् केउडी बोहरा ।
उनीको उमेर एक हप्तापछि ठीक ६८ वर्ष पुग्दैछ । जन्मिएको ६७ वर्ष ११ महिना २१ दिन (जन्मः २०१२ वैशाख १३) पछि उनी नेपालको आधिकारिक नागरिक बनिन् । तर केउडीलाई भने यो विषयमा जानकारी छैन ।
शनिबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले केउडीलाई साइपालको धुलीमा पुगेर नागरिकता हातमा थमायो । उनको भाइ गोमाले सनाखत गरे । गोमाले २०६३ सालमा काँडा पुगेको घुम्ती शिविरबाट नागरिकता लिएकी रहिछन् । शिविरमा दिदीलाई नागरिकता दिनुपर्ने विषय न कसैले भन्यो, न गोमालाई नै जानकारी भयो ।
प्रतिक्रिया दिनुहोस्