विश्वका धनी मुलुकले सय करोड मात्रा खोप दान दिने गरीब देशलाई

काठमाडौं । एजेन्सी विश्वका धनी मुलुकहरुले कोरोना भाइरसविरुद्ध गरीब देशहरुलाई एक सय करोड मात्रा खोप दान दिने भएका छन् ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले धनी मुलुकहरुको संगठन जी सेभेनमा आवद्ध देशहरु कोरोनाविरुद्ध खोपको एक सय करोड डोज दान दिन सहमत हुने विश्वास व्यक्त गर्नुभएको हो ।

frontline

जी सेभेनको बैठक शुरु हुनुपूर्व जोन्सनले सन् २०२२ को अन्त्यसम्ममा संसारका सबै जनसंख्यालाई खोप उपलब्ध गराउने संकल्प जी सेभेन राष्ट्रका नेताहरुले गर्नुपर्ने प्रष्ट गर्नुभयो ।

बेलायतले भने दश करोड डोज दान दिने उहाँले बताउनुभयो ।

यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना महामारीविरुद्धको यस युद्धमा अमेरिका एक्लैले ५० करोड मात्रा खोप उपलब्ध गराउने बताइसक्नुभएको थियो ।

यस महामारीलाई हराउन संसारका धनी र शक्तिसम्पन्न मुलुकहरु अगाडी आउनुपर्ने बाइडनको भनाइ थियो ।

अमेरिकी घोषणाको स्वागत गर्दै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले युरोपले पनि केही गर्नैपर्ने भन्दै आफ्नो देशको तर्फबाट तीन करोड डोज दान दिने बचनवद्धता व्यक्त गर्नुभएको छ ।

जी सेभेनमा अमेरिका, बेलायतका साथै क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान संलग्न छन् ।

अमेरिकी राष्ट्रपति बाइडनले अमेरिकाले गर्ने यो संख्याको खोप दान र जी सेभेनको समर्थनसँगै विश्व खोप अभियान तीब्र गतिमा चालु हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

केही सामाजिक संस्थाले भने खोपको यो मात्रा पनि समुन्द्रमा पानी सरह मात्रै हुने टिप्पणी गरेका छन् ।

अक्सफामका अनुसार संसारका लागि करिब चार सय करोड डोज खोप चाहिनेछ ।

उता, वैज्ञानिकहरुले भने खोप अभियान तीब्र रुपमा सञ्चालन नगरिए भाइरसको नयाँ नयाँ भेरियन्ट आउने र त्यसलाई हालको खोपले काम नगर्ने हुनसक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here