विराटनगरमा सडक मापदण्डमा परेका पर्खाल भत्काउन थालियो

३० असोज, विराटनगर । विराटनगरमा सडक मापदण्डमा परेका पर्खाल भत्काउन थालिएको छ। महानगरले सडक मापदण्डमा परेका पर्खालसहितका भौतिक संरचना हटाउन सुरु गरेको हो। 

अतिक्रमण गरेर सडकमा व्यक्तिगत हिसाबले पर्खाल बनाउने र हटाउन आलटाल गर्ने परिपाटीले सडकको स्तरोन्नति तथा विस्तारमा अवरोध पुग्दै आएको थियो। सडक मापदण्डमा परेका पर्खाल नहटाउँदा विराटनगरका विभिन्न सडक निर्माणमा अवरोध हुँदै आएको छ। महानगरले शनिबार विराटनगर–३ स्थित कन्यामार्गमा सडक मापदण्डमा परेको पर्खाल हटाएको छ।

frontline

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको निर्देशनमा घरको पर्खाल हटाइएको हो। महानगरका अनुसार स्थानीय कृष्ण रेग्मी र लक्ष्मी रेग्मीले पर्खाल भत्काउन नदिँदा लामो समयदेखि कन्यामार्गको नाला निर्माण रोकिएको थियो। महानगरको अगुवाइमा सडक मापदण्डमा परेका पर्खाल भत्काउन थालिएपछि स्थानीयले प्रशंसा गरेका छन्। 

सडकको मापदण्डको अनुपातमा एउटा घरले पर्खाल नभत्काउँदा सडक बन्न नसकेको र महानगरले नेतृत्व गरेर पर्खाल भत्काएकोमा आफूहरु निकै हर्षित भएको स्थानीय केदार खड्काले बताए। एकजनाले पर्खाल नभत्काउँदा सबैले समस्या झेल्नु परेको र सडक विस्तार हुन नसकेको उनको भनाइ छ। खड्काले अन्य क्षेत्रमा रहेका यस्ता समस्या समाधानमा महानगर लाग्नुपर्नेमा जोड दिए। 

अर्का स्थानीय जनक तिम्सिनाले लामो समयदेखि एकजना व्यक्तिले पर्खाल भत्काउन नदिँदा सडकमा आवतजावतमा समस्या भएको बताए। उनले अब सडक र नाला बन्नेमा आफूहरु ढुक्क भएको उल्लेख गरे। 
त्यस्तै धरान रोडबाट कन्यामार्ग प्रवेश गर्ने मुखमा पनि भत्काइएको छ। स्थानीय घमचन्द्र तिम्सिनाले आफ्नो घरतर्फको संरचना भत्काउन नदिँदा नाला बन्न सकेको थिएन। मापदण्डअनुसार सडक निर्माणमा अवरोध भएको स्थानका पर्खाल र संरचना हटाउँदै जाने महानगरको भनाइ छ। 

मेयर र उपमेयरको निर्देशनमा सडक मापदण्डमा परेका पर्खाल, घरटहरासमेतका भौतिक संरचना हटाउन थालिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए। पर्खाल भत्काउन प्रमुख कार्यकारी कोइरालासहित नगर प्रहरीका प्रमुख राजन पौडेल, इन्जिनियर अर्जुन थापालगायत पुगेका थिए। विराटनगरको विकास र समृद्धिमा महानगरलाई आफूहरुको सहयोग रहने स्थानीय देवीमाया पौडेलले बताइन्। 

महानगरले नक्सा पास नगरेका पर्खालको महानगरबाट स्वीकृत गर्न सूचनासमेत जारी गरिसकेको छ। साथै विकास निर्माणलाई असर गर्ने गरी व्यक्तिगत हिसाबले बनाइएका संरचना हटाउन सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here