विराटनगर र आसपासका जिल्लामा ह्वात्तै बढ्दै कोरोना संक्रमण, सुरक्षा सतर्कता अपनाउन अपिल
१ साउन, काठमाडौं । चार दिनअगाडिसम्म शून्यमा रहेको कोरोना संक्रमण प्रदेश १ को राजधानी विराटनगर र आसपासका जिल्लामा ह्वात्तै बढेको छ ।
आइतबार विराटनगरस्थित जिल्ला कारागार मोरङमा ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबैलाई उपचारका लागि कोसी कोभिड उपचार केन्द्रमा भर्ना गरिएको जेलर तुलसीराम भगतले बताए । उनका अनुसार चार दिनअघिसम्म जेलभित्र कोरोना संक्रमण थिएन ।
कोरोना संक्रमित बढेपछि हाल मोरङ कारागारमा स्वास्थ्य सुरक्षा सतर्कता बढाइएको भित्रबाहिर आवतजावतमा कडाइ गरिएको बताइएको छ । ‘जेलभित्र र बाहिर सबैतिर सेनिटाइज पनि गरिसकेका छौँ ।
संक्रमितलाई उपचारका लागि पठाएपछि अहिले स्थिति नियन्त्रणमा छ,’ जेलर भगतले भने । उनका अनुसार अत्याधिक गर्मीले गर्दा ज्वरो आउने बिरामी बढेसँगै कैदीबन्दीमा मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
मोरङ कारागारमा कोरोना संक्रमण बढेपछि विराटनगर महानगरपालिका र जिल्ला प्रशासन मोरङले सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणसँग अपिल गरेका छन् ।
दुवै निकायको कोरोना रोकथाम बैठकले अनिवार्य मास्क लगाउन, जथाभावी घरबाट ननिस्कन र समाजिक दुरी कायम गर्न अपिल गरेको छ ।
प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरे पनि कडाइ नगर्दा सर्वसाधारणले स्वास्थ्य मापदण्डको बेवास्ता गरेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्