विपीन रावतको अन्तिम विदाइमा ८ सय सैन्य जवानले सलामी
२४ मंसिर, नयाँ दिल्ली । भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको अन्तिम विदाइमा ८ सय सैन्य जवानले सलामी दिने भएका छन् ।
बुधबार तमिलनाडुको कुन्नुर जंगलस्थित हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएका रावतको अन्तिम विदाइमा ८ सय जवानले १७ तोपको सलामी दिने भएका हुन् ।
गत बुधबार तमिलनाडुमा भएको हेलिकोप्टर दुर्घटना सीडीएस रावत र उनकी धर्मपत्नीसहित १३ वरिष्ठ सैन्य अधिकारीहरुको निधन भएको थियो ।
दुर्घटनामा परि मृत्यु भएकाहरु सबैको भारतीय समयअनुसार शुक्रबार दिउँसो २ बजे दिल्लीको क्यान्ट बरान्ड चोकमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।
यसअघि विपीन रावतको पार्थीव शरीर शुक्रबार विभिन्न स्थानमा पुर्याइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, कांग्रेस नेता राहुल गान्धीलगायत शीर्ष नेताले रावतलाई श्रद्धान्जली दिएका छन् ।
सीडीएस रावत र उनकी पत्नी मधुलिका रावतकी छोरीहरु कृतिका र तारिनीले पनि आफ्ना माता पितालाई श्रद्धान्जली दिएको भारतीय मिडियाले जनाएका छन् ।
हाल उनको पार्थीव शरीरलाई सैन्य अधिकारीहरुले श्रद्धान्जली दिइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्