विद्या बालुवाटारबाट निस्किन नभ्याउँदै….

धेरैलाई जिज्ञासा थियो– पर्यटनमन्त्री पद छोडेर हिँडेका योगेश भट्टराईलाई ‘बैगुनी केटो’ भन्ने केपी ओलीले त्यसैगरी राजीनामा दिने भट्टराई थरकै विद्यालाई के भन्ने होलान् ? आइतबार बसेको एमाले सचिवालय बैठकमा यसको झलक मिलेको छ ।
बैठकमा सहभागी एक सचिवका अनुसार शिक्षामन्त्री विद्याले राजीनामा दिएको प्रसंग निकाल्दै ओलीले भनेका थिए– ‘सांसद बनाए पुग्नेलाई मन्त्री बनाएर गल्ती गरिएछ ।’ स्रोत भन्छ– शुरुमा विद्या भट्टराईप्रति निकै आक्रामक देखिएका ओलीले प्रसंग टुङ्ग्याउँदा चाहिँ थोरै सकारात्मक भाव देखाए । उनले कुरा सक्दै भनेका थिए, ‘जे भए पनि उहाँले तयार गरेका सात बुँदाले आन्दोलन अन्त्य गराउन मद्दत नै गर्यो ।’ मलाई अलिक हतारो छ, तीनदलीय बैठकमा पुग्नुपर्छ भन्दै बीचैमा हिँडेका ओली टीआरसीको कुरा टुंग्याउन प्रचण्डसँग छलफलमा जुटेका थिए ।




एमालेकै केही नेताको बुझाइ के छ भने यदि देखाउन लायक कुनै मान्छे हुन्थे भने ओलीले विद्या भट्टराईलाई शुरुमै मन्त्री बनाउने थिएनन् । विश्वस्त स्रोतका अनुसार उनले राजीनामा पेश गरेलगत्तै सबैभन्दा पहिले ओलीले मन्त्री पदको अफर भगवती न्यौपाने र अञ्जान शाक्यलाई गरेका थिए । विद्या ननिस्किँदै बालुवाटार पुगिसकेका उनीहरू उहाँले त नसकेको, हामी सम्हाल्न सक्दैनौँ भनेर पन्छिएपछि ओली फेरि एकपटक विद्यालाई नै सम्झाई बुझाइ गरेर राख्ने निर्णयमा पुगेका थिए ।
ओलीलाई राजीनामा बुझाएर बाहिरिएकी विद्या भट्टराईले तुरुन्तै मोबाइल स्विच अफ गरिन् । त्यसपछि सिधै डेरातर्फ गएकी उनी घर पुगेर मोबाइल खोल्दा ओलीका सहयोगी राजेश बज्राचार्यको धेरैवटा मिस्डकल आइसकेका थिए । पछि फेरि फोनमा ओलीसँग कुरा भयो । ओलीले उनलाई भने, ‘राजीनामा गरेको कुरा बाहिर नभन्नु । फेरि तपाईँले नै चलाउनुपर्ने पनि हुनसक्छ ।’ तर, प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएलगत्तै एसएमएसमार्फत विष्णु रिमाललाई जानकारी गराइसकेको हुँदा अब त्यो खबर विद्यामा मात्र सीमित थिएन ।
केही पत्रकार के भन्छन् भने उनीहरूलाई विद्या भट्टराईले राजीनामा दिएको जानकारी विष्णु रिमालले नै दिएका थिए । विष्णुले यसरी हतार हतार समाचार बाहिर ल्याउनुको पनि छुट्टै कारण छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अली का कतिपय काम विद्या भट्टराईले रोकेकी थिइन् । रिमाललाई भट्टराईको यो तरिका मन परेको थिएन । त्यसैले उनी जसरी हुन्छ विकल्पको खोजीमा थिए, त्यसैले समाचार चुहाए ।
विद्या भट्टराईले निकटस्थहरूसँग भनेकी छन्, ‘मैले शिर झुक्ने काम गरिन । प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदासमेत प्रष्ट भाषामा भनेकी थिइन्, ‘तपाईंले जिम्मेवारी त दिनुभयो तर काम गर्ने वातावरण दिनुभएन । प्रधानमन्त्रीको सहयोग बिना मन्त्रीले केही गर्न सक्दैन, मैले सहयोग पाइन ।’ तिनै ओली अहिले भनिरहेका छन्, ‘सांसद बन्ने हैसियत नभएकालाई मन्त्री बनाएर गल्ती गरिएछ ।’
प्रतिक्रिया दिनुहोस्