विकास माग्दै मुगुका राजनीतिक दलले बुझाए नेता ज्ञवालीलाई ज्ञापन पत्र

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई मुगुका राजनीतिक दलहरूले जिल्लाको विकासका लागि विभिन्न योजना सहितको संयुक्त ज्ञापन पत्र बुझाएका छन् । पार्टी स्कुल विभागका प्रमुख समेत रहेका ज्ञवाली प्रशिक्षणका क्रममा मुगु पुगेको बेला स्थानीय राजनीतिक दलहरूले बिहीबार जिल्लाको विकासमा रणनीतिक महत्त्व राख्ने चारवटा सडक निर्माणका लागि बजेट विनियोजनको पहल गरिदिन माग गरेका हुन् ।
मुगुका राजनीतिक दलहरूले ज्ञवालीलाई बुझाएको ज्ञापन पत्रमा गमगढी नाक्चेलाग्ना सडक निर्माण र चीनतर्फको नाका खोल्नका लागि पहल गरिदिन अनुरोध गरिएको छ । यसैगरी मुगुको पर्यटन विकासको आधारको रुपमा रारा तालको संरक्षण र प्रवर्द्धनका लागि रारा पर्यटन विकास प्राधिकरण गठनको पहल लिइदिन पनि अनुरोध गरिएको छ । रामगढी भुलभुले सडक खण्ड कालोपत्रे गर्न बजेट विनियोजनको पहल लिइदिन र जुम्लामा रहेका सङ्घीय सरकार अन्तरगतका कार्यालय मुगुमा सारिदिन पनि उनीहरुले माग गरेका छन् ।




मुगुका राजनीतिक दलका तर्फबाट नेकपा एमालेका अध्यक्ष पूर्णबहादुर रोकाया,नेपाली कांग्रेसका सभापति कर्णबहादुर रावल, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सन्तोष कुमार मल्ल,राप्रपाका अध्यक्ष राजबहादुर मल्लले नेकपा (एस)का उपाध्यक्ष वीरेन्द्र बहादुर मल्लले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।
ज्ञापन पत्र बुझेपछि ज्ञवालीले आफू कर्णालीको विकासका लागि सधैँ सकारात्मक रहेको बताए । मुगुवासीहरूले उठाएका विकास निर्माणका सवालहरू प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू समक्ष पुर्याउने प्रतिबद्धता ज्ञवालीको छ ।
सो अवसरमा एमाले कर्णाली प्रदेशका इन्चार्ज एवं स्थायी कमिटीका सदस्य गोरखबहादुर बोगटी,संगठन विभागका प्रमुख एवं स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्