वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन

२ पुस, काठमाडौं । वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासको समस्याबाट ग्रस्त रहेका ८८ वर्षीय मल्लको शुक्रबार उपचारका क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा थप समस्या भएपछि शुक्रबार दिउँसो १२ बजे अस्पताल पुर्‍याइएकोमा २ बजे निधन भएको कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए ।

frontline

शर्माका अनुसार मल्लको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

मल्ल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति हुन् । शर्माले मल्लको निधनसँगै रंगमञ्चले एक कुशल रंगकर्मी गुमाएको बताए ।

मल्लले थुप्रै नाटकको निर्देशन गरेका छन् । त्यस्तै उनले थुप्रै नाटकको लेखन र अभिनय समेत गरेका छन् ।

उनले निर्देशन गरेका ‘पृथ्वीनारायण शाह’, ‘पत्थरको कथा’, ‘फर्केर हेर्दा’ लगायतका नाटक चर्चित छन् ।

बालकृष्ण समको ‘नेपाल कला मण्डल’बाट मल्लले नाट्ययात्रा शुरु गरेका थिए ।

स्वर्गीय मल्लकी एक छोरी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here