लुम्बिनी प्रदेशका एमाले सांसद विष्णु पन्थीले बुझाए बिगो रकम, पक्राउ नगर्न अदालतको पत्र

 समाचार सारांश

  • एमाले सांसद विष्णु पन्थीले मोरङ अदालतमा धरौटी बुझाएपछि काठमाडौं प्रहरीलाई पक्राउ नगर्न पत्र पठाइयो।
  • पन्थी र गौतमबुद्ध हाइड्रोपावरका सञ्चालक देवराज खनाललाई पनि पक्राउ नगर्न अदालतको आदेश।
  • पन्थी र खनालले २०७३ सालमा पल्लवी इलेक्ट्राबाट उधारोमा सामान लिएर रकम नतिरेको मुद्दा थियो।
  • अदालतले दुवै जनालाई ६ महिना कैदको सजाय तोकेको थियो, तर पछि धरौटी बुझाए।

विराटनगर । नेकपा (एमाले)का लुम्बिनी प्रदेशसभाका सांसद विष्णु पन्थीले धरौटी दाखिला गरेको भन्दै मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी बमोजिम नगर्न जिल्ला प्रहरी कार्यालय काठमाडौँलाई पत्राचार गरेको छ । पन्थीले बुधबार जिल्ला अदालत मोरङमा धरौटी दाखिला गरेका हुन् । 

पन्थीका साथै सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका गौतमबुद्ध हाइड्रो पावर प्रा.लि. काठमाडौँका सञ्चालक देवराज खनाललाई पनि पक्राउ नगर्न अदालतले पत्र पठाएको हो । 

frontline

‘उपर्युक्त सम्बन्धमा वादी श्याम राठी प्रतिवादी गौतमबद्ध हाइड्रोपावर प्रा.लि. समेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा यस अदालतबाट मिति २०८१/०१/३१ मा भएको आदेशअनुसार प्रस्तुत मुद्दामा वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले यस अदालतमा मिति २०८१/१/३१ मा धरौटीमा दाखिला गरिसकेको हुँदा यस अदालतको च.नं. ३०१६ मिति २०८१।०३।१२ गतेको पत्र बमोजिम तपसिल बमोजिमका प्रतिवादीहरूलाई पक्राउ नगर्नु, नगराउनु हुन अनुरोध छ,’ अदालतले द्वय पन्थी र खनालको नाम उल्लेख गरेर जिल्ला प्रहरी कार्यालय काठमाडौँमा पठाएको पत्रमा उल्लेख छ । 

उनीहरू विरुद्ध मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष अगाडि नै पक्राउ पुर्जी जारी गरेको थियो । यद्यपि उनी अहिलेसम्म पक्राउ परेका थिएनन् । उनलाई अदालतको फैसला कार्यान्वयनमा अटेरी गरेको भन्दै ६ महिना कैदको सजाय तोकिएको थियो ।

WhatsApp Image 2025-05-14 at 6.48.27 PM

प्रदेशसभाको सार्वजनिक लेखा समितिको सदस्य तथा एमालेको केन्द्रीय लेखा आयोगका उपाध्यक्षसमेत रहेका पन्थीविरुद्ध मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते दिएको आदेश अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौँलाई २०८१ जेठ १२ गते पक्राउ गरी दाखिला गर्न पत्राचार गरेको थियो । 

कपिलवस्तु बाणगंगा नगरपालिका राजपुर स्थायी ठेगाना भएका पन्थी र देवराज खनाल गौतमबुद्ध हाइड्रोपावर प्रा.लि. काठमाडौँका सञ्चालक हुन् । उक्त कम्पनीले विराटनगरमा रहेको पल्लवी इलेक्ट्रा प्रा.लि.बाट विभिन्न विद्युतीय सामाग्री, ट्रान्सफरमरहरूको कारोबार गर्ने गर्दथ्यो । 

कारोबार गर्ने क्रममा गौतमबुद्ध हाइड्रो पावर प्रा.लि.ले १८ लाख ५४ हजार रुपैयाँको सामान २०७३ सालमै उधारो लगेको थियो । सो रकम फिर्ता गर्न पल्लवी इलेक्ट्रा प्रा.लि.ले ताकेता गर्दा ५ लाख रुपैयाँ दिएको भएपनि १३ लाख ५४ हजार रुपैयाँ दिएन । रकम नदिएपछि जिल्ला अदालत मोरङमा पल्लवी कम्पनीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरायो । सो मुद्दाको अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश मेदिनीप्रसाद पौडेलले २०७७ साल मंसिर २३ गते भुक्तानी गर्न बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ र सोको कोर्ट फि रकम प्रतिवादी गौतमबुद्ध हाइड्रोपावर प्रा.लि. काठमाडौँबाट वादीले भराई पाउने ठहर गर्ने निर्णय सुनाए । 

जिल्ला अदालत मोरङको सो आदेश कार्यान्वयन गर्न हाइड्रो पावर प्रा.लि.ले अटेरी गरेपछि पुनः पल्लवी कम्पनीले अदालतमा निवेदन दियो । सो निवेदनपछि गोरखापत्रमा २०८१ साल वैशाख १२ गते सूचना प्रकाशित गर्न पत्राचार गर्‍यो । सो पत्रमा १३ लाख ५४ हजार रुपैयाँ भुक्तानी गर्नका लागि १५ दिनभित्र अदालतमा आफैँ आउने सूचना थियो । सो सूचना प्रकाशित भइसकेपछि पनि हाइड्रो कम्पनीका संचालकद्वय खनाल र पन्थी नआएपछि अदालतले जनही ६ महिना कैद गर्न आदेश दिएको थियो ।

#विष्णु पन्थी #धरौटी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here