लुंग्री खोलामा पक्की पुल निर्माण

२ मंसिर, रोल्पा (अस) । रोल्पाको सुनीलस्मृति गाउँपालिका–४ छिर्ने र कोइरालखर्क जोड्ने लुंग्री खोलामा पक्की पुल निर्माण भएको छ ।

सडक पूर्वाधार विकास कार्यालय रोल्पामार्फत पुल बनेपछि स्थानीयवासीलाई आवतजावत तथा वस्तु ढुवानीमा सहज भएको छ । दुई वर्ष अघि निर्माण शुरू भएको पुल असारमा सम्पन्न भएको हो ।

frontline

६ करोड ६३ लाख २९ हजार लागतमा बनेको पुलको लम्बाइ ५२ मिटर र चौडाइ ८ मिटर छ । पुल निर्माणको जिम्मा २०७६ भदौमा एशियाटिक राजवीर आशु जेभीले पाएको थियो । सम्झौता बमोजिम गत भदौमा सम्पन्न गर्नुपर्ने पुल निर्माण २ महीना अघि नै सम्पन्न भएको थियो ।

पुलको केही दिनअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे । सो अवसरमा मुख्यमन्त्री केसीले प्रदेश सरकारको सहयोगमा योसँगै रोल्पामा ८ ओटा अन्य पक्की पुल निर्माण भइरहेको बताए ।

‘भर्खरै मात्र नयाँ सरकार बनेको छ,’ मुख्यमन्त्री केसीले भने, ‘अब यो सरकारको ध्यान आत्मनिर्भर प्रदेश बनाउने हो ।’

छिर्ने–कोइरालखर्क हुँदै प्यूठान जोड्ने यो सडकमा पुल बनेपछि स्थानीयवासी उत्साहित भएका छन् । यसअघि ६ महीना मात्र गाडी चल्ने भएकाले जेठमै ६ महीनालाई पुग्ने खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता थियो ।

‘अब १२ महीना नै सहज रूपमा आवतजावत गर्न सकिने भएको छ,’ स्थानीय देवकुमार विश्वकर्माले भने । २०६८ सालमा स्थानीयले आफै रकम संकलन गरी यो सडकको निर्माण शुरू गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here