लालबन्दीको गोलभेँडा विराटनगरदेखि पोखरासम्म
गोलभेँडा उत्पादनका लागि नेपालभर प्रख्यात नाम हो लालबन्दी, जुन नामबाटै लालबन्दी नागरपालिका बनेको छ । गोलभेडा उत्पादनको हिसाबले धेरै राम्रो छ तर भण्डारका लागि चिस्यान केन्द्र नभएपछि किसानहरूको गोलभेडा खेर जाँदा बर्सेनि किसानहरूले लाखौं बराबरको नोक्सानी व्यहोर्दै आएका छन् ।
कोल्ड स्टोरको अभावमा कृषकहरूले सस्तोमा तरकारी बिक्री बाध्य छन् । त्यतिमात्र नभई नबिकेका गोलभेडा त्यतिकै कुहिएर जाने नगरपालिकाका कृषि शाखा प्रमुख गोकर्ण पौडेलले बताए । उनको अनुसार नगरपालिकामा गोलभेँडासँगै सिमी, बोडी, भन्टा, खुर्सानी लगायतका मौसमी र बेमौसमी तरकारी उत्पादन हुन्छन् । वर्षायाममा काँक्रो, घिरौँला, भिण्डी, परबल लगायतका तरकारी उत्पादन हुने उनले बताए ।
६६४१९ जनसंख्या रहेको नगरपालिकामा ११ हजार ४ सय ३७ जना तरकारी खेतीमा संलग्न छन् । नगरपालिकाको ५७.४ प्रतिशत खेतीयोग्य जमिन छ । १३ हजार १४५ हेक्टर खेतीयोग्य जमिनमध्ये १० हजार ७ सय ५५ हेक्टर जमिनमा खेतीपाति गरिएको छ । सो मध्ये ६ हजार ३७४ हेक्टर जमिनमा तरकारी खेती भएको उनले जानकारी दिए ।
उखु खेतीका कृषकहरू पनि पछिल्लो समयमा गोलभेडा खेतीतर्फ आकर्षित भएको उनले बताए । ‘उखुमा भन्दा तरकारीबाट आम्दानी भएकाले गोलभेँडा खेतीमा कृषकहरू आकर्षित भएका छन् ।’ नगरपालिकाको ६० प्रतिशत जमिनमा सिँचाइको सुविधा भएकाले तरकारी खेती गर्ने कृषक धेरै भएको उनले जानकारी दिए ।
तर कृषकले उचित मुल्य नपाउदा समस्या भएको उनले पालिकाखबरसँग बताए । ‘अहिले गोलभेँडा एक हजार ५०० रुपैयाँसम्ममा कृषकहरूले बेचिरहेका छन् । तर, धेरै उत्पादन हुने मौसममा एक क्रेट गोलभेँडा २०० रुपैयाँमै बेच्नुपर्ने बाध्यता आउँछ,’ नेपाल सरकारले तरकारी आयातलाई नियन्त्रणका लागि सिमा क्षेत्रमा कडाइ गर्न नसक्दा कृषक मारमा परेको उनी बताउँछन् । उनका अनुसार भारतको तरकारीसँग स्थानीय किसानले प्रतिस्पर्धा गर्नुपर्दा किसानहरूले सस्तोमा बेच्न बाध्य हुनु परेको हो ।
चिस्यान केन्द्रको स्थापनाको लागि पालिकाले केन्द्रीय र प्रदेश सरकारसँग माग गरेको उनले बताए । उनले भने, ‘नगरपालिका आफ्नै खर्चले कोल्ड स्टोर निर्माण गर्न सक्दैन । संघीय र प्रदेश सरकारसँग माग गरे पनि सम्बोधन भएको छैन ।’ मौसममा कृषकले राम्रो बजार नपाउँदा सो तरकारीलाई भण्डार गर्न पालिकामा चिस्यान केन्द्र नरहेको उनले बताए ।
नगरपालिकाभित्र नै थोक बजार केन्द्र सञ्चालन भएकाले कृषकहरूलाई तरकारी बेच्न भने समस्या छैन । वडा नं ७ मा नेपाल सरकारबाट नै कृषि थोक बजार सञ्चालन रहेको शाखा प्रमुख पौडेलले पालिकाखबरलाई बताए । उक्त थोक बजारमा लालबन्दीको मात्र नभइ हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेको तरकारी आउँछन् ।
नगरपालिकाले कृषकहरूलाई तरकारी खेतीमा थप आकर्षित गर्न कृषकहरूलाई सीप विकास र प्राविधिक ज्ञान उपलब्ध गराएको उनले बताए । यस्तै बेमौसमी तरकारी खेतीबाट कृषकहरूले राम्रो आम्दानी गर्नसक्ने भएकाले नगरपालिकाले बेमौसमी तरकारी खेती तथा प्लाष्टिक टनेल हाउसमा तरकारी खेतीको तालिम प्रदान गर्ने उनले जानकारी दिए ।
पालिकाभित्र उत्पादन भएका तरकारी थोक विक्री केन्द्रमार्फत काठमाडौं, पोखरा, बुटवल, सिन्धुली, रामेछापदेखि विराटनगर, इटहरीसम्म पुग्ने गरेको उनले बताए । तर, कृषकहरूलाई तरकारी बिक्री गर्न नगरपालिकाले बजार मूल्य निर्धारण गर्न नसकेको उनले बताए । ‘एकपटक नगरपालिकाले तरकारी मूल्य निर्धारण पनि थियो । व्यापारीहरू बीच कुरा नमिल्दा दिनहुँ मुल्य परिवर्तन गर्नुपर्थ्यो । तरकारी धेरै उत्पादन हुँदा व्यापारीले बजार घटाउन खोज्थे ।’ धेरै विवाद भएपछि नगरपालिकाले मूल्य निर्धारण गर्न नसकेको र थोक बिक्री केन्द्रको बजार भाउमा तरकारीको कारोबार हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्