रौतहटका दुई दर्जन गाउँ बाढीको जोखिममा

श्रोत : ईन्टरनेट

रौतहट । अविरल बर्षाका कारण रौतहटका दुई दर्जन भन्दा बढी गाउँ बाढीको जोखिममा परेका छन् ।

चुरे तथा पहाडी क्षेत्रमा अविरल बर्षापछि बाग्मती, लाल बकैया नदी तथा झाँझ खोलामा आएका बाढी बस्तीमा पसेपछि गाउँलेहरु विस्थापित भएका छन् ।

frontline

लाल बकैया नदी र झाँझ खोलामा आएको बाढीका कारण सदरमुकाम गौरमा घरहरु डुबानमा परेका छन् ।

गौरको बरहवा ताल आसपासको क्षेत्रका घर तथा सडकमा बाढीको पानी बढ्ने क्रममा रहेको छ ।

गौर नगरपालिकाको वडा नं. १ र २ भन्सार क्षेत्रको बस्ती बाढी पस्न थालेको छ । गौर चन्द्रपुर सडकखण्डको सबगढामा रहेको लच्कामा पानीको बहाव तीव्र रहेको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको १, २, ३ र ९ नम्बर वडा डुबानमा परेको छ भने राजदेवी नगरपालिका– ९ तथा दुर्गा भगवती गाउँपालिका– ५, ७ र ८ नम्बरका घरमा बाढीको पानी पसेको उपरीक्षक शिद्धिबिक्रम शाहले बताए ।

दुर्गा भगवती गाउँपालिकाको बाग्मती नदीको बाँध नजिकै भएको बस्तीका करीब दुई सय परिवार विस्थापित भएका छन् ।

उनीहरु बाँधमा पाल राखेर बसेका छन् । गढीमाई नगरपालिका– ९ सिंगारमनमा रहेको पुल र स्परमा बाढीले क्षति पु¥याएको छ ।

इशनाथ नगरपालिकाको बन्जरहामा ३० परिवार विस्थापित भएका छन ।

राजदेवी नगरपालिकामा बाग्मती नदीको १ र २ नम्बर स्परमा कटान हुन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बाँधको स्पर मर्मत गरिरहेका छन् ।

झाँझ खोलामा आएको बाढीले मत्सरीमा रहेको नहर फुटाए पनि सो स्थानमा पनि सुरक्षाकर्मी र स्थानीय वासिन्दाले मर्मत गरिरहेको एसपी शाहले बताए ।

सुरक्षाकर्मीको पाँच युनिट स्थानान्तरण

नेपाल प्रहरीको भन्सार सुरक्षा चौकीमा बाढी पसेपछि त्यहाँ रहेका सुरक्षाकर्मीलाई नजिकैको अर्को भवनमा सारिएको छ ।

नेपाल प्रहरीको बसन्तपुर, महादेवपट्टी र भन्सारको गरी तीन वटा चौकी अर्को भवनमा सरेको एसपी शाहले बताए ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणमा पनि बाढीको पानि पसेको छ ।

सशस्त्र प्रहरी बलकोे गौर र बेलबिछवा बोर्डर आउट पोस्टलाई नजिकैको अर्को भवनमा सारिएको सशस्त्र प्रहरी बलका उपरीक्षक सूर्य सेन वलीले बताए ।

सशस्त्र प्रहरीको औरैया बिओपी र राजपुरको फतुवामा रहेको बेसमा पनि बाढी पस्ने सम्भावना रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here