रोहिङ्ग्या मुसलमानले फेसबुकविरुद्ध उजुरी

२१ मंसिर, काठमाडौं । अमेरिका र बेलायतमा रहेका रोहिङ्ग्या मुसलमानले फेसबुकविरुद्ध उजुरी दर्ता गरेका छन् ।

शरणार्थीको रुपमा अमेरिका र बेलायतमा बस्दै आएका दर्जनौं रोहिङ्ग्या मुसलमानले उजुरी दर्ता गरेको बीबीसीले जनाएको हो ।

frontline

उजुरीमा फेसबुकले दमनमा परेको अल्पसंख्यक रोहिङ्ग्याविरुद्ध ‘घृणायुक्त सामग्री’ प्रबर्द्धन गरेको दाबी गरिएको छ ।

रोहिङ्ग्या शरणार्थीको प्रतिनिधित्व गरेको एक बेलायती ल फर्मले फेसबुकलाई लेखेको पत्रमा ‘रोहिङ्ग्याविरुद्ध घृणायुक्त अभिव्यक्तिलाई बढावा दिएको’ र उनीहरूविरुद्ध हिंसा उक्साउने सामग्री वा अकाउन्ट नहटाएको उल्लेख छ ।

अमेरिकाका वकिलले समेत फेसबुकविरुद्ध कानुनी उजुरी दर्ता गरेका छन् । सो उजुरीमा फेसबुकमाथि ‘दक्षिणपूर्वी एसियाको सानो मुलुकमा राम्रोसँग बजार विस्तार गर्न रोहिङ्ग्याको जीवनलाई दाउमा राख्न खोजेको’ उल्लेख छ ।

हालै नाम फेरेर मेटा बनेको फेसबुकले क्षतिपूर्ति स्वरुप १५० अर्बभन्दा बढी अमेरिकी डलर दिनुपर्ने समेत रोहिङ्ग्या मुसलमानको माग रहेको छ ।

तर फेसबुकले आफूमाथि लगाइएको आरोपबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

म्यानमारमा लाखौं मानिसका लागि समाचार पढ्ने र शेयर गर्ने प्रमुख माध्यम बन्दै आएको फेसबुकका २ करोडभन्दा बढी प्रयोकर्ता छन् ।

सन् २०१७ मा रोहिङ्ग्या विद्रोहीले प्रहरी चौकीमाथि भीषण आक्रमण गरेपछि म्यानमारको सेनाले रखाइन राज्यमा रोहिङ्ग्यामाथि निर्मम दमन गरेको थियो ।

यसक्रममा झण्डै १० हजार रोहिङ्ग्याले ज्यान गुमाएका थिए भने सात लाखभन्दा बढी मानिस भागेर बंगलादेश आएका थिए ।

म्यानमारको सेनामाथि सुनियोजित हत्या, बलात्कार र आगजनीसहित व्यापक मानव अधिकार हनन गरेको आरोप समेत लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here