रेस्टुरेन्ट चलाउन रोकेर मन्त्री आलेले राम्रो गरेको भन्दै प्रधानमन्त्रीले दिए धन्यवाद

२२ पुस, काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा निजी व्यवसायीलाई भाडामा दिएर रेस्टुरेन्ट व्यवसाय चलाउन खोज्दा पर्यटनमन्त्री प्रेम आलेले रोक लगाएका छन् ।

मन्त्री आलेले राम्रो गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यवाद दिएका छन् ।

frontline

ऐतिहासिक महत्वको दरबार संग्रहालयभित्रै व्यवसाय चलाउने तयारी भइरहेको समाचार बाहिरिएपछि सर्वत्र आलोचना भएको थियो । पूर्ववर्ती सरकारमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा उक्त जग्गा भाडामा दिने सम्झौता भएको बताइन्छ ।

यद्यपि पूर्वमन्त्री भट्टराईले यसमा अाफ्नाे संलग्नता नरहेकाे बताएका छन् । यसरी दरबार परिसरभित्रै व्यवसाय सञ्चालन गर्न लागेकाे थाहा पाएपछि वर्तमान पर्यटनमन्त्री आलेले उक्त निर्णय कार्यान्वयन गर्न रोक लगाएकाेमा प्रधानमन्त्री देउवाले धन्यवाद दिएकाे मन्त्री आलेले बताए ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री आलेले धेरै राम्रो निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले उनको प्रशंसा गरेको बताइएको छ ।

‘नारायणहिटी दरबार संहग्रहालय परिसरमा रेस्टुरेन्ट चलाउने निर्णय रोकेर राम्रो गर्नुभो’ भन्दै प्रधानमन्त्रीले पर्यटनमन्त्रीलाई धन्यवाद दिएका हुन् ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारका पालामा बतास अर्गनाइजेसन समूहको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामक कम्पनीलाई उक्त जग्गा सस्तैमा भाडामा दिइएको थियो ।

सम्झौतापश्चात हाल त्यहाँ विभिन्न स्थायी संरचना बनाइँदै थियो । बीपीएसले मासिक २ लाख २० हजार मात्र भाडा बुझाउने गरी उक्त जग्गा लिजमा लिएको जनाइएको छ ।

तर मन्त्री आलेले उक्त निर्णय कार्यान्वयन नगर्न र संरचना निर्माण कार्य स्थगित गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here