रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने, युक्रेनको पक्षमा लड्यो भने तेस्रो विश्वयुद्ध हुन्छ : अमेरिकी राष्ट्रपति
२८ फागुन, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् । उनले आफ्नो सेनाले युक्रेनको पक्षमा लड्यो भने तेस्रो विश्वयुद्ध हुनेछ ।
अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ तेस्रो विश्वयुद्ध सुरु गरे सरह हुने बाइडेनको चेतावनी छ । त्यसैले अमेरिकाले रुस–युक्रेन युद्धमा हस्तक्षेप नगर्ने उनको भनाइ छ ।
युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ । तर बाइडेन यसो गर्न नहुने बताइरहेका छन् ।
यद्यपि अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन् । जस अन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको बिबिसीले जनाएको छ ।
बाइडेनले रुसी कुलीन वर्गमाथि आर्थिक प्रतिबन्ध बिस्तार गर्दै लग्ने अमेरिकी रणनीति रहेको समेत बताएका छन् ।
तर रुसले भने अमेरिकाको सहयोगमा युक्रेनमा जैविक हतियारका गतिविधिहरू भइरहेको दाबी गरेको छ ।
उसले युक्रेनका ३० वटा प्रयोगशालामा जैविक हतियार विकास भइरहेको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा जानकारी गराएको छ ।
उता अमेरिकाले भने रुसको दाबी मिथ्या रहेको बताएको छ । बरु रुसले नै युक्रेनमा रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै अमेरिकाले भनेको छ, ‘रुसले आफ्नो आक्रमणको औचित्य प्रमाणित गर्न झुट फैलाइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस्