राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने
२० माघ, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई कारबाही गर्ने भएको छ।
पार्टीको बुधबार बसेको सचिवालय बैठकले निर्वाचनमा अन्तर्घात गर्नेहरुको छानबिन गरी कारबाही गर्न निर्देशन दिइएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।
उनका अनुसार बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ।
त्यस्तै प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको उनले बताए।
‘स्थानीय निर्वाचनमा केन्द्रीत भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ,’ उनले भने।
त्यस्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ।
बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्