राप्रपा महाधिवेशन : नेतृत्वमा चार नेताको टक्कर

८ मंसिर, काठमाडौं । देशका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसले जस्तै यही मंसिरमा पूर्वपञ्चहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि महाधिवेशन गर्दैछ ।

मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि सोमबारदेखि ३ दिनसम्म हरेक जिल्लाको प्रदेश निर्वाचन क्षेत्र स्तरमा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको छ । महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि सहभागी भई पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।

frontline

२०४७ सालमा जनआन्दोलन सफल भएपछि पञ्चायतका पक्षधरहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेका थिए । पटक-पटक फुट्दै र पुनः जुट्दै आइरहेको यो दल हाल भने एउटै छ ।

कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त) र बीच २०७६ फागुन २८ एकीकरण भएको थियो । पार्टी एकीकरणपछि हुन लागेको महाधिवेशनमा अध्यक्ष कमल थापा, पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र राजेन्द्र लिङ्देनले नेतृत्वमा आकांक्षा राखेका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका लिङ्देनले बाहेक अरुले औपचारिक रुपमा भने मुख खोलेका छैनन् ।

आन्तरिक छलफलमा भने अध्यक्ष कमल थापा यसपालि आफू स्वाभाविक दाबेदार भएको बताउने गरेका छन् ।

पार्टीको एजेण्डा हिन्दू राष्ट्र, राजसंस्था र संघीयताको खारेजी आफूले तय गरेको भन्दै उनले यसलाई बलियो बनाउन आफैंले नेतृत्व गर्नुपर्ने तर्क गर्ने गरेका छन् । उनले यही अनुसार पार्टीका अरु नेताहरुसँग छलफल अघि बढाइरहेका छन् । ‘जसको नीति उसको नेतृत्व हुनुपर्छ, त्यसैले अहिले नै कमल थापाको विकल्प सोच्ने बेला भएको छैन’ थापा निकट नेता उद्धव पौडेल भन्छन् ।

तर थापामाथि हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डालाई आफ्नो फाइदाका लागि उपयोग मात्र गरेको आरोप पार्टीभित्र लाग्दै आएको छ । राजसंस्थासहितको लोकतन्त्रको पक्षमा रहेको पार्टीले गणतान्त्रिक संविधानमा हस्ताक्षर गर्नु, राष्ट्रपति निर्वाचनको प्रस्तावक बस्नु र संविधान जारी भएपछि केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनुजस्ता गतिविधिले थापा राप्रपाको एजेण्डालाई आफ्नो हित अनुकूल उपयोग गरिरहेको देखिने राप्रपाका एक नेता बताउँछन् ।

राजसंस्था र हिन्दु राज्यको वकालत गरे पनि पार्टी राजावादीको विश्वासिलो बन्न नसकेको र हिन्दु जनमतको विश्वास पनि लिन नसकेको थापामाथि आरोप छ । अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका लिङ्देन पनि यो संकेत गर्छन् । ‘३१ वर्षको इतिहासमा पार्टी जीवनकै कमजोर अवस्थामा छ, तर त्यसको विपरीत राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा ०६२/६३ पछि सर्वाधिक लोकपि्रय अवस्थामा छ । अहिले राप्रपाले पूरै सडक कब्जा गरेको हुनुपर्नेमा पार्टी छ कि छैन भन्ने अवस्था छ र महाधिवेशनपछि पार्टी विघटनमा जाने खतरा छ’ उनले भने ।

राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

जबरा निकट नेता ठाकुर शर्माका अनुसार जबराले उम्मेदवारी दिने विषयमा निकट नेताहरुसँग छलफल गरिरहेका छन् । तर अन्तिमसम्म जे पनि हुनसक्ने उनले संकेत गरे । ‘अहिलेसम्म चार जनाले इच्छा देखाएका छन्, तर चारै जनाले लड्ने त के होला र समीकरण र एडजस्टमेन्ट होला’ उनले भने ।

डा. लोहनीले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । सहमतिको प्रयास भए पनि नछोड्ने ? भन्ने प्रश्नमा उनले भने, ‘सहमतिको प्रयासबारे मलाई थाहा छैन, म उम्मेदवारी दिनेमा छु ।’

तर थापा निकटका एक नेता भने अन्तिमसम्म जबरा र लोहनीले थापालाई समर्थन गर्ने दाबी गर्छन् । ‘राजा सा’ब -राणा)को केही दिनअघिसम्म उठ्ने कुरा थियो, तर अहिले थापालाई नै सपोर्ट छ, डा. सा’बको पनि त्यही हो’ उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा दोस्रो पुस्ताको नेता राजेन्द्र लिङ्देन अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । । लामो समय कमल थापा समूहमा रहेका उनले अहिले असन्तुष्ट नेताहरुको साथ पाएका छन् । सोमबार मात्र नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणाले लिङ्देनलाई समर्थन गरेका छन् । यो समूहले मंसिर ९ गते उम्मेदवारी घोषणा कार्यक्रम राखेको छ ।

पञ्चायतकालमा नै मन्त्री भएका र २०६० सालमा राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरेदेखि अध्यक्ष रहेका कमल थापाको तुलनामा राजेन्द्र लिङ्देन लो-प्रोफाइलका नेता हुन् ।

उनी र धवलशम्शेरलाई २०७३ सालमा थापाले तत्कालीन राप्रपा नेपालको महामन्त्री मनोनित गरेका थिए । त्यतिबेला थापाका भरपर्दा सहयोगी मानिएका उनीहरुप्रति विश्वास व्यक्त गर्दै थापाले भनेका थिए, ‘आज म ढुक्क भएको छु, अब कम्तीमा २० वर्ष राप्रपाको भविष्य राष्ट्रिय राजनीतिमा सुरक्षित भएको छ । मैले जनाधार भएका दुई युुवालाई पार्टीको नेतृत्व सुम्पिए पनि हुने अवस्थामा पुगेको छु ।’

तर अहिले तिनै लिङ्देन र राणाले नेतृत्व दाबी गर्दा थापा आफैं प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी संघीय संसदमा राप्रपाको एक्लो प्रतिनिधि हुन् । उनलाई साथ दिने अर्का प्रभावशाली नेता धवलशम्शेर राणा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर हुन् । जवकी अध्यक्ष थापा, प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-१ मा पराजित भएका थिए ।

धवलशम्शेरको साथ पाएका लिङ्देनले तीन अध्यक्ष (थापा, राणा र लोहनी) मिले पनि आफू पछि नहट्ने अडान लिएका छन् । आफ्नो उम्मेदवारी कुनै सौदाबाजीका लागि नभएको भन्दै उनी भन्छन्, ‘कुनै दलाली र सौदाबाजीका लागि उम्मेदवारी घोषणा गरेको होइन, आफू कहाँ बस्ने भन्ने विषयले नेतृत्व परिवर्तनको कुरा उठाएको होइन ।’

२०७३ सालमा पशुपतिशम्शेर जबरा नेतृत्वको तत्कालीन राप्रपा र कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपाल एकीकरण भएपछि २०७३ फागुन २६ गते महाधिवेशन हुँदा पनि लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले थापालाई अध्यक्ष स्वीकारेका थिए ।

तर कमल थापाले पार्टी एकता ६ महिना पनि टिकाउन नसकेको आरोप उनीमाथि लागेको छ । त्यतिबेला ३७ सांसद रहेको राप्रपालाई थापाले नै १ सांसदमा सीमित गरेको पनि उनका आलोचकहरु बताउँछन् ।

२०७६ सालमा हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको माग राख्दै राप्रपाले सडक आन्दोलन गर्दा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कानुनमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा वार्ता टोली बनायो । राप्रपाले पनि दीपक बोहराको नेतृत्वमा समिति बनायो । सरकार र राप्रपाबीच एक चरणको वार्ता भयो, तर त्यसपछि वार्ता पनि भएन र भंग पनि भएन । कमल थापामाथि राप्रपाको मुद्दालाई सिंहदरबारको दराजमा थन्क्याएको आरोप पनि लागेको छ । ‘हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कमल थापाको राजनीतिक दाउपेचको विषय मात्र देखिन्छ, उनी मुद्दामा इमान्दार छैनन्’ उनले भने ।

‘कमल थापा आगामी चुनावमा कुनै ठूलो पार्टीसँग गठबन्धन गरेर सांसद बन्ने र पाँच वर्ष उपप्रधानमन्त्री खाएर बस्ने दाउमा छन्, तर उनलाई रोक्नुपर्छ’ राप्रपाका एक केन्द्रीय सदस्यले भने ।

कमल थापानिकट नेता पौडेल भने हिन्दु राष्ट्र नचाहने जमात र पार्टीभित्रको सक्रिय राजतन्त्र चाहनेहरुले मात्र कमल थापाको विरोध गरेको बताउँछन् । ‘हिन्दु राष्ट्र नचाहने र सक्रिय राजतन्त्र चाहनेहरुले कमल थापालाई ड्यामेज गर्न चाहन्छन्’ उनले भने । संविधानमा आफ्नो एजेण्डाबारे फरक मत राखेर संविधान मानिसकेपछि अब संविधानकै परिधिभित्र रहेर एजेण्डा उठाउनुपर्ने पौडेल बताउँछन् ।

राप्रपामा महाधिवेशन प्रतिनिधि छनोट नभइसकेकाले कुन उम्मेदवार बलियो छ भन्ने अहिले नै अनुमान गर्न सकिन्न । तर सबै नेताहरु आफ्नो पक्षका प्रतिनिधि जिताउन र अर्को पक्षका उम्मेदवार रोक्न शक्ति खर्च गरिरहेका छन् ।

अघिल्लो हप्ता भएको प्रदेश अधिवेशनको नतिजा भने मिश्रति देखिएको छ । प्रदेश १ मा कमल थापा पक्षका राम थापा विजयी हुँदा लिङ्देन पक्षका भक्ति सिटौला ३७ मतान्तरले पराजित भए । प्रदेश २ मा लिङ्देन पक्षका भरत गिरी सर्वसम्मत भए । वागमती प्रदेशमा कमल थापा पक्षका विक्रमबहादुर थापा सर्वसम्मत भए भने गण्डकीमा लिङ्देन पक्षका हेमजंग गुरुङले कमल थापा पक्षका मदनबहादुर कार्कीलाई ७४ मतान्तरले पराजित गरे ।

लुम्बिनीमा दीपक बोहरा निकट प्रदीप उदय ६० मतान्तरले विजयी भएका छन् । कणर्ालीमा पशुपतिशम्शेर जबरा निकटका दीपबहादुर शाही सर्वसम्मत भए भने सुदूरपश्चिममा लिङ्देन पक्षका धर्मराज जोशी सर्वसम्मत भए ।

प्रदेश अधिवेशनको नतिजा हेर्दा जस्तो समीकरण पनि बन्नसक्ने देखिने राप्रपाका नेताहरु बताउँछन् । तर कुनै पनि प्रदेशमा थापा र लिङ्देन पक्ष भने मिलेका छैनन् ।

लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएदेखि नै कमल थापाले उनीबाट ‘थ्रेट’ महसुस गरेको लिङ्देन निकट नेताहरु बताउँछन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एक सिटमात्र जितेपछि पार्टीभित्र कमल थापाको आलोचना भएको थियो । नेताहरु वुद्धिमान तामाङ, धबलशम्शेर राणा, जयन्त चन्द लगायतले कमल थापाको आलोचना बढाएपछि उनले पार्टीका सबै पदाधिकारी हटाए र आफूले पनि अध्यक्ष छाड्ने भन्दै कुन मोडलमा पार्टी चलाउने भन्ने विषयमा अर्को बैठकमा सुझाव पेश गर्न आग्रह गरे ।

त्यतिबेला झापामा रहेका लिङ्देन काठमाडौं आएर थापाको बचाउ गरेका राप्रपा नेताहरु बताउँछन् । तर थापाले पार्टी एकता भएदेखिका कुनै पनि निर्णय गर्दा सल्लाह नगरेको र बरु सामाजिक सञ्जाल र अन्तर्वार्ताबाट आफ्नो आलोचना गरेको लिङ्देनले आफू निकटस्थहरुलाई बताउने गरेका छन् ।

पार्टी एकीकरण गरेपछि राप्रपामा २५ सदस्यीय विशेष समिति, ५५ सदस्यीय निर्देशन समिति र १८८ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरे पनि अधिकार तीन अध्यक्षले राखेका छन् । ‘कतिसम्म भने महाधिवेशन पनि तीन अध्यक्षले नै सारिदिन सक्छन्’ एक नेताले भने ।

एक टेलिभिजन अन्तर्वार्तामा थापाले लिङ्देनलाई क्षेत्र-जिल्लाको नेता भनेर टिप्पणी गरेका थिए । लिङ्देनले त्यस अभिव्यक्तिलाई आफ्नो मुटुमा गरेको प्रहारको रुपमा लिएका छन् ।

त्यस्तै थापाले नेता धवलशम्शेरलाई सामाजिक सञ्जालमा ‘भाइरस’ भनेका थिए । धवलले तीनै जना अध्यक्ष असफल भएको र असफल नेतृत्वलाई बोकेर अघि बढ्न नसक्ने भन्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए ।

त्यही समयमा थापाले सामाजिक सञ्जालबाट उनलाई भाइरस भन्दै भाइरससँग कुनै सम्झौता नहुने बताएका थिए । उनले २०७८ असार ५ गते ट्वीटरमा लेखे, ‘लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा सन्तोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ । विगतमा धेरै गल्ती गरियो । अब मसँग गल्ती सच्याउने समय छैन । त्यसैले अब मेरो पछि कति छन् भनेर हेर्दिनँ । बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु । नो कम्प्रमाइज विथ भाइरस ।’

पहिले आफैं अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राणाले अन्तिममा राजेन्द्र लिङ्देनलाई साथ दिए । पार्टीमा कमल थापासँग रिसाएका नेताहरुले धवलशम्शेरलाई साथ दिएका थिए । अहिले त्यो समूहले नै राजेन्द्र लिङ्देनलाई साथ दिएको छ ।

राप्रपाका नेता वुद्धिमान तामाङ पार्टीमा नेतृत्व चयनका लागि निर्वाचन हुने सम्भावना रहेको बताउँछन् । ‘सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न सके बेस, चुनाव भए पनि पार्टी नफुट्ने होस्’ उनले भने, ‘जसले पार्टीलाई फुटबाट जोगाउँछ, उसैलाई साथ दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here