राजावादीको विरोधाभास : आपसमा बेमेल तर ज्ञानेन्द्रको नजिक बन्ने होडबाजी

सर्वस्वीकार्य हुन नसकेको सुवेदीको ‘जनआन्दोलन समिति’ कसरी अघि बढ्छ ?

काठमाडौँ । साना ठुला गरी वर्तमान व्यवस्थाविरुद्ध लागेका १०० भन्दा बढी राजावादी संघ संगठन अस्तित्वमा रहेको दाबी गरिन्छ । ती संघ संगठनको मुख्य उद्देश्य राजतन्त्र र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयताको खारेजी हो । तर, आपसी बेमेलका कारण राजावादी समूहहरू एकजुट हुन सकेका छैनन् । 

frontline

सबै राजावादी समूहलाई एकजुट गर्ने उद्देश्यसहित पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’घोषणा गरिएपनि सुरुमै एकमत बन्न सकेन । जवकी लामो ‘होमवर्क’पछि समिति घोषणा गरिएको त्यसको निर्देशक समितिमा नाम भएकामध्येका केही सदस्यहरूको दाबी छ । 

तर, समितिको सोमबार आयोजित घोषणा सभामै राजावादी समूहमध्येका सबैभन्दा बलियो शक्ति राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन गएनन् । यस्तै राजावादी आन्दोलनका पुराना नेता तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि देखिएनन् । अर्थात्, उनीहरूसँग पर्याप्त छलफल बिना नै समिति घोषणा गरियो । जुन कुराको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पुष्टि गरिसकेका छन् । 

लिङ्देनले भने, ‘हामी यो प्रक्रियामै सामेल छैनौँ । हामीलाई जानकारी नै नभएको विषय हो ।’ पार्टीका केही साथीहरू उक्त समिति घोषणा कार्यक्रममा सोमबार उपस्थित भए पनि आफूसँग भने कुनै सल्लाह नभएको लिङ्देनको भनाइ थियो । 

यसैबिच राप्रपाको मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफ्नै नेतृत्वमा राजतन्त्र फर्काउने आन्दोलन गर्ने निर्णय गरिसकेको छ । सो पार्टीका महामन्त्री राजेन्द्र गुरुङले पार्टीले आन्दोलन गर्नका लागि चैत १२ गते लिङ्देन नेतृत्वको मूल समारोह समितिको बैठक तय गरेको रातोपाटीलाई बताए । यद्यपि राजसंस्थालाई स्थापित गर्नका लागि हुने कुनै पनि आन्दोलन या अभियानलाई पार्टीको साथ हुने उनको भनाइ थियो । 

‘पार्टीले पहिलेदेखि नै आन्दोलनको कार्यक्रम तय गरेको थियो र त्यो कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउने भन्ने त छँदै छ । तर, अहिले पछिल्लो समयमा जुन ढंगले परिस्थिति तयार भइरहेको छ त्यो पृष्ठभूमिलाई केन्द्रमा राखेर समीक्षा र विश्लेषण पछि आन्दोलनले थप सशक्तता खोजेको निष्कर्ष निकालिएको छ’, गुरुङले भने, ‘नेपाली जनताको चाहनालाई सम्बोधन गर्नका लागि पार्टीले सशक्त ढंगले कार्यक्रम लाउनुपर्ने छ र त्यसका लागि मूल समारोह समितिको बैठक चैत १२ गते बोलाएका छौँ ।’ उक्त समितिको बैठकपछि आन्दोलनको कार्यक्रमलाई सशक्त ढंगले अघि बढाउने उनको भनाइ छ । 

राप्रपाकै एजेन्डाका कारण राजसंस्थासहितको एजेन्डालाई स्थापित भएको जिकिर गर्दै उनले अब सोही अनुसार आन्दोलनको कार्यक्रम तय हुने बताए । राप्रपाका प्रवक्ता प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पनि पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन गर्ने बताए ।

‘राजा फर्काउन’ नवराजलाई अघि सारिएपछि रिसाए राजेन्द्र लिङ्देन

यसैगरी मंगलबार नै बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुवेदी नेतृत्वको समितिमा उपाध्यक्ष नारानाथ लुइँटेललाई पठाउने निर्णय गरेको छ । जबकि उक्त समितिमा कमल थापाको नाम थियो । जुन समितिमा थापा बस्न चाहेनन् ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार वर्तमान व्यवस्थाविरुद्धको अभियानमा लक्ष्य हासिल गर्न समान विचारधारा भएका सबै राजनीतिक दल र समूहका बिच एकता र सहकार्य कायम गरी संयुक्त जनआन्दोलनमा जानुपर्छ भन्नेमा भने पार्टी एकमत रहेको बताए ।  उनले समितिले निकट भविष्यमा आयोजना गर्ने आन्दोलनका सबै कार्यक्रमहरूमा पार्टीले सहयोग गर्ने निर्णय गरेको मंगलबारपछिको बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, पार्टीले पनि आफ्नो ढंगले आन्दोलनका कार्यक्रमहरू भने गरिरहने बताइएको छ । 

राप्रपा र राप्रपा नेपालले सुवेदीको समितिलाई पूरै अस्वीकार नगरेपनि आफ्नै आन्दोलनको जस पार्टी आफैँले समेत लिन खोजेको देखिन्छ । 

अर्कोतर्फ अहिले दुर्गा प्रसाईंले पनि आफूलाई सबैभन्दा कट्टर राजावादी देखाउन खोजेको देखिन्छ । माओवादी, एमाले जस्ता दल चहारेर अहिले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान चलाइरहेका मेडिकल व्यवसायी उनले हाकाहाकी राप्रपा र राप्रपा नेपालले राजसंस्था फर्काउन नसक्ने अभिव्यक्ति दिइसकेका छन् ।

केही दिनअघि उनले राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपाको रहेको आरोप लगाएका थिए । ‘हिजो सबैभन्दा ठुलो दोष, सबैभन्दा फ्रड काम गरेको राप्रपाले हो’, प्रसाईंले भनेका थिए, ‘२०७२ असोज ४ कमल थापा र राजेन्द्र लिङ्देनले साइन गरेको थिएन भने न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो ।’

प्रसाईंले राप्रपाले राजसंस्थालाई खोलामा लगेर तिलाञ्जली दिएको तर अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्न लागेको आरोप समेत लगाएका थिए । 

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले चलाएको आन्दोलनमा सारथिको भूमिका निर्वाह गर्न आग्रह समेत गर्दै आएका छन् । ‘राजाले पनि धैर्य भएर सोच्नुहोला । तपाईंले यो लडाइँमा सारथि भएर रथ हाँक्नुस्,म अर्जुनको भूमिकामा बाण चलाउँछु’, प्रसाईंको भनाइ थियो । उनै प्रसाईं समेत सुवेदीको समितिमा छन् । 

राजावादी अभियान चलाइरहेका अर्का नेता केशर बहादुर विष्ट समेत सुवेदी नेतृत्वको समितिमा बस्न इच्छुक नरहेको बताइन्छ । सुवेदीको समिति मातहतको निर्देशक समितिमा राजावादीहरूले गठन गरेको निर्देशक समितिमा अस्मिता भण्डारी, कमल थापा, केसरबहादुर विष्ट, दुर्गा प्रसाईँ , पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, रवीन्द्र मिश्र, राजेन्द्र लिङ्देन र हरिबहादुर बस्नेतलाई सदस्य राखिएको थियो । 

राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?

पूर्वराजा ज्ञानेन्द्रकै सल्लाहमा उक्त जनआन्दोलन समिति बनाइएको कतिपयले दाबी गर्दै आएपनि त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन । समितिमा रहेका केही व्यक्तिहरूले त सुवेदीले फागुन २६ मा पूर्वराजालाई भेटेपनि समितिको अन्तिम तयारी गरेर घोषणा गरेको समेत जिकिर गरेका छन् । 

फागुन २५ मा पोखराबाट काठमाडौँ फर्किँदा केही हजार राजावादीले स्वागत गर्दा हौसिएका पूर्वराजा र त्यही पृष्ठभूमिमा राजावादीले पनि आफ्नो गतिविधिलाई तीव्रता दिन खोजेका छन् । यहीबिचमा सुवेदीलाई अघि सारेर आन्दोलनलाई गति दिने प्रयास भएपनि सो समिति सुरुमै सर्वस्वीकार्य बन्न नसकेको हो । 

बरु राप्रपाजस्तो दल नै आफ्नै नेतृत्वमा आन्दोलनमा अघि बढ्ने बढेको हो । साथसाथै अन्य राजावादी समूह एकजुट देखिँदैनन्, विशेषगरी साझा नेतृत्वको सवालमा । तर, सबै राजावादी समूह आफूलाई पूर्वराजा निकट देखाउने होडबाजीमा भने देखिन्छन् । 

पछिल्लो उदाहरण हेर्ने हो भने पनि २०८० मंसिरमा दुर्गा प्रसाईंले काठमाडौँमा राजतन्त्रको पक्षमा प्रदर्शन गरिरहेकै बेला राजेन्द्र लिङ्देनले पूर्वराजालाई झापामा लगेर अभिनन्दन गराएका थिए । जसको उद्देश्य को बढी ज्ञानेन्द्रको नजिक भन्ने सन्देश प्रवाह गर्नु नै रहेको थियो । यस्तो क्रियाकलाप राजावादी समूहबाट पटक पटक भइरहेको एक पूर्वपञ्चले रातोपाटीलाई बताए ।  

‘पूर्वराजाको आफ्नो नजिक देखाउने र उनलाई पनि आफ्नो पक्षमा पार्ने प्रवृत्ति राजावादी समूहमा देखिँदै आएको छ । राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईं वा अरु जोकोहीले पूर्वराजाको निकट देखिन खाजेपनि आफैँलाई केन्द्रमा राखेको देखिन्छ’, ती पूर्वपञ्चले भने, ‘कसैले आन्दोलनलाई महत्त्वाकाङ्क्षा साथ हेरेका छन्। कोही आफ्नो अस्तित्व हराउँछ कि भन्ने डरमा पनि होलान् ।’ साझा उद्देश्य पूरा गर्नका लागि निःस्वार्थरुपमा लाग्नुपर्ने भएपनि राजावादी समूहहरुले त्यस्तो त्याग गर्न नसकेको उनको भनाइ थियो ।  

काठमाडौँ र झापाका दुई दृश्य : दुर्गा प्रसाईंको गुनासो, राप्रपाको उत्साह !

राप्रपाका नेता सगुनसुन्दर लावती भने अब एकताबद्ध हुने बेला आएको बताउँछन् । विगतमा  राजावादी विभिन्न समूह तथा संगठनले स्वतःस्फूर्त अभियान चलाउँदा एकजुटको अवस्था नदेखिएको बताउँदै उनले अब मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । ‘अहिलेसम्म निर्णायक घडी या वातावरण विकसित भएको थिएन । अबचाहिँ एउटा परिस्थिति निर्माण भएकाले सबै समूहहरू एक ठाउँमा उभिन्छन्’, उनले रातोपाटीसँग भने, ‘राष्ट्रवादी र राजावादी एक ठाउँमा उभिनुपर्ने बेला आएको छ ।’ स–सानो झुण्डमा रहेका राजावादी समूहले आ–आफ्नो ढंगले गतिविधि गर्दै आएकै छन् ।

सुवेदी नेतृत्वको समितिमा रहेकी अस्मिता भण्डारीले पनि राजतन्त्र फर्काउन साझा नेतृत्व चाहिन्छ भन्ने निष्कर्षका साथ नै जनआन्दोलन समिति बनाइएको रातोपाटीलाई बताइन् । जोकोहीलाई आफ्नै नेतृत्वमा आन्दोलन होस् भन्ने चाहना हुनु स्वाभाविक भएपनि साझा व्यक्ति छनोट गर्ने क्रममा सुवेदीलाई चयन गरिएको उनको भनाइ थियो । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष समेत रहेकी उनले सबै एकताबद्ध भएर आन्दोलन गरिएको खण्डमा लक्ष्य प्राप्त गर्न सकिने जिकिर गरिन् । उनले छिट्टै समितिको बैठक बस्ने बताउँदै ठोस योजनाका साथ सबैलाई समेटेर आफूहरू आन्दोलनमा जाने तयारी रहेको बताइन् ।  

राप्रपाराप्रपा नेपालराजावादीज्ञानेन्द्र शाह

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here