राजस्थानमा बढे बाख्रा र गधा चोरीका घटना
१७ माघ, जयपुर । भारतको राजस्थानमा बाख्रा र गधा चोरीका घटना बढेका छन्। राज्यको हनुमानगढ जिल्लामा पछिल्लो समय बाख्रा र गधा चोरीका घटना बढेका हुन्।
जिल्लामा बाख्रा र गधा चोरको बिगबिगी रहेको जिल्लास्थित खुइया प्रहरी चौकीले जनाएको छ। प्रहरीका अनुसार पछिल्लो एक महिनाभित्रमा ७० वटा गधा चोरी भएको घटना सेलाउन नपाउँदै ३४ बाख्रा चोरी भएको घटना सामुन्ने आएको छ।
गधा र बाख्रा चोर पक्रिन र चोरी भएका गधा र बाख्राको खोजीमा त्यहाँको विशेष प्रहरी टोली खटिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
त्यहाँको तिब्बी प्रहरी चौकीले चोरी भएका बाख्रा र गधा खोजी र चोर पत्ता लगाउन विशेष टोली बनाएको बताइएको छ।
सो क्षेत्रमा जाडोको समयमा स्थानीयहरु चडै निदाउने भएकाले चोरहरुले बाख्रा र गधा चोरीको मौका छोप्ने गरेको बताइएको छ।
चोरहरु स्थानीय नै हुने आशंका गरिएको छ। चोरहरुले चोरीका गधा र बाख्रा चोरेर टाढाको बजारमा बिक्री गर्ने गरेको हुनसक्ने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्