रवि लामिछानेविरुद्धको मुद्दा सरकारी वकिलको अध्ययनमै

एक सातापछाडि अभियोजन हुने
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथि सरकारी वकिलको कार्यालय पर्साले अध्ययन गरिरहेको छ । लामिछानेविरुद्धको मुद्दामाथि अझ अध्ययन गर्ने काम नै चलिरहेको पर्सा सरकारीको वकिलको कार्यालयले जनाएको छ ।




रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दाको अध्ययन सुरु गरेको एक साता भन्दा बढी भइसकेको छ । गएको शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्साले लामिछानेविरुद्धको मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रबार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियाे ।
एक साता अघि फाइल बुझाएपनि लामिछानेविरुद्धको मुद्दामा अझ अध्ययन गर्ने र लेख्ने काम मात्रै भइरहेको जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाले बताए ।
उनका अनुसार प्रहरीले बुझाएको प्रतिवेदनमा ४१ जनालाई प्रतिवादी बनाइएको छ, जुन फाइल एकदम ठूलो छ । त्यसकारण यसको अध्ययन नसकिएको उनी बताउँछन् ।
‘फाइल ठूलो छ, अध्ययन सके लगतै अदालतमा अभियोजन हुन्छ । तर अहिलेसम्म अध्ययन सकिएको छैन,’ न्यायाधिवक्ता निरौलाले भने । अझ करिब एक साता जति अध्ययनमा लाग्न सक्ने आङ्कलन गरिएको जिल्ला न्यायाधिवक्ता निरौलाको भनाइ छ ।
पर्सा प्रहरीले यो मुद्दामा ३० जना व्यक्ति, तीनवटा सहकारी र ८ वटा विभिन्न कम्पनीलाई प्रतिवादी बनाइएको पर्सा प्रहरीले जनाएको छ ।
२ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ बिगो माग दाबी गर्दै प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
त्यसमा कम्पनी र व्यक्तिको उत्तरदायित्वतर्फ १ अर्ब १२ करोड ६५ लाख २६ हजार ३९५ पैसा लिनुपर्ने माग गरिएको छ । यसैगरी स्वर्ण लक्ष्मी बहुउद्देश्य सहकारी संस्थासंग १ अर्ब १५ करोड ९१ लख ४४ हजार, सुर्यदर्शन सहकारी संस्थासंग १ करोड २० लाख र आसा एण्ड इन्टरनेशनल प्रालिसंग ३७ लाख ९० हजार ३७९ पैसा फिर्ता लिनु पर्ने प्रहरी प्रतिवेदनमार्फत माग गरिएको प्रहरी प्रवक्ता लम्साल बताउँछन् ।
संसदीय छानविनको समितिले अनुसन्धान गरेर लामिछानेमाथि मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्देशन दिएपछि पर्सा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै लामिछानेसहितका व्यक्तिहरुमाथि मुद्दा दर्ता भएको थियो ।
प्रहरीका अनुसार सुरुमा २०८० सालको साउन महिनाको २१ गते ५२ जना, ०८० सालकै भदाै महिनामा २०७ जना र ०८१ सालको फागुन २ गते १७९ जनाले सानो पाइलाले रकम अपचलन गरेको भन्दै विभिन्न व्यक्तिलाई प्रतिवादी जाहेरी दर्ता गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्