रत्ननगरद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण
रत्ननगर । रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक उपकरण वितरण गरेको छ ।
कृषि उत्पादन बढाउन र लागत मुल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समुह मार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो ।
मकै उत्पादन प्रर्बद्धन कार्यक्रम अन्तर्गत रत्ननगर १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र रत्ननगर १२ को सुसब एकीकृत कृषि र्फमलाई ट्याक्टर सहित कल्टीभेटर,रोडाभेटर,हाइरो,बीउ राख्ने र मल छर्ने मेसिन,थ्रेसर,टेलर र च्यापकटर मेसिन गरिएको छ ।
ट्याक्टर सहित अन्य उपकरणलाई ३० लाखमा खरिद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अतार्थ १५ लाख रुपैयामा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रविण लामाले जानकारी दिनुभयो ।
पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ वटा च्यापकटर मेसिन,रत्ननगर ११ का किसान इश्वरी चौलागाई र रत्ननगर ३ का किसान दर्शन महतोलाई एक एक वटा एउटा च्यापकटर मेसिन प्रदान गरिएको छ ।
त्यसैगरी सहयोगी कृषक समुह रत्ननगर ११ लाई मकै छोड्याउने ३ वटा मेसिन,उत्पीडित कृषि सहकारी संस्था रत्ननगर ११,किसान युवराज शर्मा र नविपशु तथा कृषि फर्मलाई मकै छोड्याउने एक एक वटा मेसिन प्रदान गरिएको लामाले बताउनुभयो ।
त्यसैगरी सहयोगी कृषक समुह र किसाज युवराज शर्मालाई एक एक वटा मकै रोप्ने हाते मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको छ ।
रत्ननगरका प्रमुख नारायण वन र उपप्रमुख विमला दुवाडीले सहकारी तथा कृषि समुहका अध्यक्ष र किसानहरुलाई उपकरण हस्तान्तरण गर्नुभएको थियो ।
सो अबसरमा वनले किसानलाई व्यवायिक बनाउन उपकरण दिन्छु भन्दा पनि किसानहरुले चासो नदिएको बताउनुभयो ।
५० प्रतिशत अनुदानमा उपकरण दिँदा पनि किसानहरु लिन नचाहेकोे उहाँको भनाई छ ।
सित्तैमा पाए लिने उहाँले भन्नुभयो “अनुदानमा दिँदा लिन नमान्ने हाम्रा किसानहरु हुनुहुन्छ ।”
वनले सहकारी र कृषि समुहलाई प्रदान गरिएको उपकरण दुरुपयोग भए नगरपालिकाले फिर्ता दिने बताउनुभयो ।
अन्न उब्जनीमै उपकरण प्रयोग हुनुपर्ने भन्दै उहाँले ट्याक्टर बालुवा र ढुंगा बोक्न प्रयोग भए नगरपालिकाले फिर्ता लिने छ ।
उपप्रमुख विमला दुवाडीले रत्ननगर व्यवसायिक कृषिमा आधारित नगर भएकाले यहाँका सबै किसानलाई व्यवसायीमुखी बनाउने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले कृषि क्षेत्रको विकासका लागि आधुनिक खेती प्रणालीमा रुपान्तरण जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा आर्थिक विकास समितिका सदस्यहरु सरस्वती लामा,रमा भट्टराई,कृषि शाखाका बासुदेब खनाल,शोभाखर रिमाल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्