युक्रेनमा मृत सर्वसाधारणलाई सामूहिक चिहानमा फ्याँकिएको भिडियो सार्वजनिक…
२५ असोज, काठमाडौं । युक्रेनमा मृत सर्वसाधारणलाई सामूहिक चिहानमा फ्याँकिएको एक भिडियो सार्वजनिक भएपछि रुसले अन्र्ताष्ट्रिय मानवअधिकार संगठनहरूलाई यस विषयमा सचेत गराएको छ ।
उक्त भिडियो युक्रेनका एक नवनाजी लडाकूले सार्वजनिक गरेका हुन् तर उनले रुसी सैनिकहरूलाई यस हत्याका लागि जिम्मेवार ठहर गरेका छन् ।
रुसको मानवअधिकार परिषद्का अध्यक्ष भ्यालरी फेदोरोभले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्, अर्गनाइजेसन फर सिक्युरिटी यान्ड कोअपरेसन, एमनेस्टी इन्टरनेसनल लगायतका समूहलाई विचलित बनाउने भिडियो फूटेजबारे जानकारी दिएका छन् ।
‘यस भिडियोमा गैरन्यायिक हत्या देखाइएको छ । युक्रेन सरकारविरुद्ध प्रतिकारको साहस गर्ने व्यक्तिहरूको भौतिक सफाया गरिएको यसमा देखिन्छ । युक्रेनका अधिकारीहरूले सरकारविरोधीहरूमाथि कठोर व्यवहार गर्ने भनेको भएकाले पनि यस भिडियोलाई गम्भीर रूपमा लिनुपर्ने हुन्छ,’ फेदोरोभले बयान जारी गरी बताए ।
यसअघि रुसको अनुसन्धान समितिले कथित सामूहिक हत्याका विषयमा छानबिन थालेको बताएको छ । यो सामूहिक हत्या पूर्वी युक्रेनमा रहेको कुप्यान्स्क शहरनजिक भएको विश्वास गरिन्छ । उक्त शहरलाई हालै युक्रेनी सैनिकहरूले रुसीहरूबाट मुक्त गरेका थिए ।
विचलित बनाउने भिडियो आइतवार माक्सिम झोरिनले अन्लाइन सार्वजनिक गरेका हुन् । उनी नवनाजी आजोभ समूहका पूर्व वरिष्ठ कमान्डर हुन् । भिडियोमा सर्वसाधारणहरूको शवलाई एउटा खाल्डोमा आधा पुरिएको देखिन्छ । अर्का एक लगभग नग्न पुरुषको शव खाल्डोमा फालिएको पनि देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्