युक्रेनको सीमाबाट रुसी सेना फर्किन थाल्यो
४ फागुन, काठमाडौं । रुसले युक्रेनको सीमाबाट आफ्ना केही फौज फर्किएको बताएको छ । मंगलबारदेखि नै दक्षिण तथा पश्चिमी सैन्य इलाकामा तैनाथ फौजी युनिट आ-आफ्नो शिविरमा फर्किन थालेका हुन् ।
रुसको समाचार माध्यम इन्टरफ्याक्सले त्यहाँको रक्षा मन्त्रालयलाई उध्दृत गर्दै युक्रेनको सिमानासँग जोडिएका सैन्य इलाकामा तैनाथ केही फौज फिर्ता हुन थालेको जनाएको हो ।
दक्षिणी एवं पश्चिमी सैन्य जिल्लामा तैनाथ सैन्य युनिटले आफ्नो अभ्यास पूरा गरी आ-आफ्नो शिविरमा फर्किन थालेको समाचारमा उल्लेख छ ।
‘आफ्नो मिसन पूरा गरेका दक्षिणी तथा पश्चिमी सैन्य जिल्लाका युनिटले रेल र गाडी चढ्न थालेका छन्’, रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले भने, ‘र उनीहरू आजै आ-आफ्नो ग्यारिसन (शिविर) मा फर्किन सुरु गर्दैछन् ।’
तर, अन्य सैन्य अभ्यास भने जारी रहेको पनि कोनाशेन्कोभले बताए ।
युक्रेन संकटलाई कूटनीतिमार्फत् समाधान गर्ने प्रयास जारी रहेका बेला सिमानामा तैनाथ केही रुसी सेना फिर्ता भएका हुन् ।
योसँगै मस्को र पश्चिमी मुलुकबीचको तनाव कम हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्