मेयर उद्यमशिलता विकास योजना-चाँंगुनारायण नगरपालिका

देशभरकै नगरपालिकाहरुमध्ये भक्तपुरको चाँंगुनारायण नगरपालिकाले मेयर उद्यमशिलता विकास योजना ल्याएको छ । योजना अन्तर्गत नगरपालिका क्षेत्रका स्थानीय युवालाई विना धितो, बिना व्याज ३ लाखसम्म ऋण दिने भएको छ । पहिलो चरणमा नगरपालिका क्षेत्रका वडा नं १ देखि १० सम्मका तीन सय जना युवालाइ ऋृण दिने योजना रहेको नगरपालिकाले जनाएको छ।
चाँंगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ देशभरका नगरपालिकाहरुमध्ये यस्तो कार्यक्रम ल्याउने आफनो पहिलो नगरपालिका रहेको दावी गरे । कार्यक्रम सफल हुँंदै गए अर्काे आर्थिक वर्षमा कार्यक्रमलाई विस्तार गर्दै थप नयाँं युवालाई श्रृण दिने योजना रहेको उनले सुनाए ।
योजनाका लागि नगरपालिकाले निर्देशिका पनि तयार पारेको छ । चाँंगुनारायण नगरपालिकाको मेयर उद्यमशिलता विकास कार्यक्रम निर्देशिका २०७७ र सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि व्याज अनुदान सम्वन्धि कार्यविधि २०७७ तयार पारिसकेको छ ।
योजना अनुसार ऋण लिन चाहने नगरपालिका क्षेत्रका युवाहरुलाई आह्वान पनि गरिसकेको छ । आह्वान गरेर आएका युवाहरुमध्ये तीन सय युवाहरुको छनौट पनि नगरपालिकाले गरिसकेको छ । छनौट भएका नगरपालिकाका युवाहरुलाई तालिम पनि दिएको छ । तालिम सोमबार समापन भएको छ । युवाहरुमा कामको सम्भाव्यता, साथै बजार व्यवस्थापन, अरु व्यापार व्यावसायबारे थप ज्ञान सिकाई व्यवसायी बन्नको लागि उत्प्रेरणा दिन तालिमको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
ऋण नेपाल बैंकबाट दिइने नगरपालिकाले जनाएको छ । त्यसको लागि बैंकसँंग सम्झौतासमेत गरेको छ । त्यसको व्याज नगरपालिकाले तिरिदिने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ । साथै जमानी पनि नगरपालिका बस्ने व्यवस्था गरिएको छ । श्रृण पाँच वर्षभित्रमा तिरिसक्नुपर्ने छ । कृषि तथा व्यापार व्यवासाय गर्नेहरुको लागि यो व्यवस्था गरिएको हो । ऋण पाएकाहरुले भक्तपुर जिल्ला केन्द्रित भएर काम गर्नुपनेछ ।
योजनाका विशेषज्ञ सबिन लामिछानेले छनौट भएका युवाहरुलाई उद्यम कसरी गर्ने ? के गर्ने ? लगानी कति ? लगायतका कुराहरु सिकाएको जनाए । तालिमको लागि नगरपालिकाले राष्ट्रिय युवा परिषद् र नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्दै आएको उनले बताए ।
तालिमका लागि १ हजार १२ जना युवाको आवेदन परेको थियो । अभिमुखीकरण कार्यक्रमबाट ३ सय ९० जना युवालाई छनौट गरिएको थियो । छनौट भएकामध्ये ३ सयजनालाई छनौट गरी उद्यमी बनाउने लक्ष्य नगरपालिकाको छ । कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएका, विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गर्दै उद्यमी बनाउन नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम थालनी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here