मुस्ताङमा जलवायु परिवर्तनका कारण जीविकोपार्जनमा प्रभाव

३ चैत, जोमसोम । हरितगृह ग्याँस उत्सर्जनका कारण मुस्ताङ जिल्लामा खाद्य सुरक्षा तथा जीविकोपार्जनमा प्रभाव पर्दै गईरहेको बुधबार एक कार्यक्रमका सहभागीहरुले बताएका छन्।

मुस्ताङको जोमसोममा आयोजित ‘पुनरुत्थानशीलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन’कार्यशाला गोष्ठिमा मुस्ताङका सरोकारवालाहरुले जलवायु परिवर्तनको असर बढ्दै गईरहेको र यसले यहाँको खाद्य सुरक्षामा नकारात्मक प्रभाव बढ्दै गईरहेको उल्लेख गरेका हुन्।

frontline

मुस्ताङका ५ स्थानीय तहका जनप्रतिनिधि, खाद्य सुरक्षासँग जोडिएका बिषयगत कार्यालय, नागरिक समाज, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ र पत्रकार लगायतको सहभागीता रहेको उक्त कार्यक्रममा सहभागीले जलवायु परिवर्तनले कृषि, पशुपालन, पर्यावरण, जैविक विविधता, स्थानीयको सामाजिक सभ्यता र प्राकृतिक सौन्दर्यतामा प्रतिकुल असर पर्न थालेको बताएका छन्। 

मुस्ताङमा स्याउ खेतीले बसाई सर्न थालेको, स्याउँका बोटहरुमा विभिन्न रोग संक्रमण देखा पर्न थालेको, कृषि उपजको उत्पादन घट्दै गईरहेको र परम्परागत खेती धरासायी हुने अवस्था सृजना हुन थालेको कार्यक्रमका सहभागीले जनाएका छन्।

उनीहरुले विगतकोस्मरण गर्दै २०४० को दशकमा मुस्ताङको कुञ्जो, टिटी, ताक्लुङ, छयो र लेते लगायतका स्थानमा स्याउ खेती हुने गरेको पाईएपनि अहिले त्यहाँ स्याउ खेती पूर्णरुपमा लोप भईसकेको अध्ययन टोलीलाई बताएका छन्।

पछिल्लो समय जलवायु परिवर्तनका कारण असमान प्रकारको हिमपात हुने, तापक्रम बढेसंगै रोग संक्रमण देखा पर्ने, अतिवृष्टि र अनावृष्टि हुने र जलवायुकै कारण खेतीयोग्य जमिन नष्ट हुँदै गईरहेको नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले जानकारी दिए। उनले स्याउ खेती हुने स्थानमा अहिले सुन्तला, ओखर, आरुबखडा आदी खेती हुने गरेको जनाए।

यस्तै जलवायु परिवर्तनका कारण मुस्ताङमा चालु वर्ष नै दुई पटकसम्म हिमपात हुँदा दर्जनौ याकचौरी पुरिंदा यहाँका किसानले लाखौंको घाटा व्यहोर्न परेको उनीहरुको कथन छ।

जलवायुकै कारण खाद्य सुरक्षामा नकारात्मक असर पर्दा मुस्ताङका किसानलाई जीविकोपार्जनमा चुनौती बन्न थालेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्तोकोटीले ध्यानआर्कषण गराए।

उनले जलवायुकै कारण कृषि क्षेत्रमा नकारात्मक प्रभाव बढ्न थालेको र यसका लागि जलवायु अनुकुलन क्षमता वृद्धि गर्नुपर्ने सुझाव पेश गरे। उनले मुस्ताङमा तापक्रम बढ्दै जाँदा उपल्लो मुस्ताङमा स्याउ खेतीले बसाई सार्न पुगेको सुनाए।

राष्ट्रिय योजना आयोगको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा मुस्ताङको जोमसोममा ‘पुनरुत्थानशीलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन’सम्बन्धी एकदिने कार्यशाला भएको हो।

यस कार्यशालाका लागि सयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक रोबर्ड कास्कासहितको टोली मुस्ताङ आएको हो।

उनीहरुले उपल्लो मुस्ताङको लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्रमा पुगेर अनौपचारिक रुपमा पुनरुत्थानशीलता विश्लेषण तथा जीविकोपार्जन सम्वन्धि अध्ययन गरे।

उनीहरुले विभिन्न खाद्य सुरक्षा सम्वन्धि प्रश्न राखेर अध्ययन गरेको कार्यक्रम संयोजक बिष्णु आचार्यले जानकारी दिए। अध्ययन टोलीले मुस्ताङका पालिकास्तरमा खाद्य सुरक्षामा पुगेको संकट र पुनरुत्थानशीलता विश्लेषण गर्न अध्ययन गरिएको उनले बताए। 

कार्यक्रम संयोजक आचार्यले पुनरुत्थानशीलता विश्लेषण तथा जीविकोपार्जन सम्वन्धी अध्ययन गण्डकी प्रदेशको कास्की, गोर्खा, मनाङ, पर्वत, म्याग्दी, बाग्लुङ आदी जिल्लामा सम्पन्न भईसकेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here