मुस्ताङको दुई स्थानीय तह रिङरोडले जोडिँदै
९ भदौ, जोमसोम । मुस्ताङको दुई स्थानीय तह रिङरोडले जोडिँदै छन्। उपल्लो मुस्ताङको लोमान्थाङ र तल्लो मुस्ताङको घरपझोङ गाउँपालिका रिङरोडले जोडिन लागेका हुन्।
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक’ अन्तर्गत लोमान्थाङ र घरपझोङ गाउँपालिकामा रिङरोड सडक निर्माणको काम द्रुत गतिमा भइरहेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ।
लोमान्थाङ रिङरोड सांसद ईन्द्रधारा बिष्ट र घरपझोङ रिङरोड सांसद महेन्द्रबहादुर थकालीको निर्वाचन क्षेत्र हो।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकामा सीमावर्ती क्षेत्रका जनताको सहजताका लागि रिङरोड सडक बन्न लागेको हो।
सीमावर्ती क्षेत्रको पाँचवटै वडाअन्तर्गत लोमान्थाङ, ढिङ्गर, चुमजुङ, न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सारसम्मको मुख्य राजमार्ग जोड्ने करिब १० किमी रिङरोड सडकको ठेक्का सम्झौता २०७६ साउन ६ गते भएको थियो।
रिङरोडको कार्यसम्पन्न गर्नुपर्ने अवधि १८ महिनाको रहेकामा कोरोना कहर, प्राकृतिक प्रकोप, हिमपात र हिउँदयामको अत्यधिक चिसोका कारण निर्माण कार्यमा बाधा पुगेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी रविन चोख्यालले उल्लेख गरे।
लोमान्थाङ रिङरोडको सडक स्तरोन्नतिको जिम्मा ईमोटल कन्ट्रक्सनले लिएको हो। सुरुवाती सम्झौता अनुसार २०७७ फागुन ६ गते सक्नुपर्ने लोमान्थाङ रिङरोड सडकको पछिल्लो समय चार पटक म्याद थपिसकेको छ। लोमान्थाङ रिङरोडको पछि थपिएको कार्यअवधि चालु वर्षको असोज २८ गते सकिँदै छ।
लोमान्थाङ रिङरोडको सुरुवाती लागत सम्झौता २१ करोड १७ लाख रहेकोमा रिङरोडको भेरियसनपछि सम्झौता २४ करोड पुगेको सूचना अधिकारी चोख्यालले बताए।
लोमान्थाङ रिङरोडको लागत ३ करोड बढेको हो। महत्वकांक्षी सडकका रूपमा रहेको लोमान्थाङ रिङरोड सडकको भौतिक प्रगति ७० प्रतिशत छ भने वित्तीय प्रगति ६० दशमलव ९० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङले उल्लेख गरेको छ।
लोमान्थाङमा रिङरोड सडकको काम सकिएमा ग्रामीण भेकमा जोडिएका स्थानीयको दैनिकी र कृषि उपज सामग्रीको बजारीकरणमा टेवा पुग्ने प्रदेश सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए। उनले रिङरोडले पालिकाको पाँचवटै जोड्ने भएकाले यातायात तथा खाद्यान्न ढुवानी लगायतमा सुविधा पुग्ने जनाए।
यस्तै गण्डकी प्रदेश सरकारअन्तर्गत मुस्ताङको तल्लो क्षेत्र घरपझोङ गाउँपालिकामा पनि रिङरोड सडकको काम भइरहेको छ। घरपझोङको पाँचवटै वडा जोड्ने गरी जोमसोम, ठिनी, ढुम्बा, छैरो र चिमाङ जोड्ने सडक निर्माणको सम्झौता २०७६ असार २६ गते भएको थियो।
यो रिङरोडको सुरुवाती सक्नुपर्ने सम्झौता २०७८ असार २५ गतेसम्म थियो। घरपझोङ रिङरोडको पनि कोरोना कहरका कारण निर्माण कार्यमा ढिलाइ हुन पुगेको पूर्वाधार विकास कार्यालय जनाएको छ। यो रिङरोड सडकको पछिल्लो सम्झौता अवधि २०७९ असोज ३० गतेसम्म छ।
घरपझोङ रिङरोड सडकको दूरी १० दशमलव ५ किमी छ। जसमध्ये करिब पाँच किमी सडक कालोपत्रे हुनेछ। यसका लागि अहिले सडक ग्राभेल गर्ने काम भइरहेको जनाइएको छ।
जोमसोमदेखि ढुम्बातालसम्म कालोपत्रे हुनेछ भने रिङरोडको ६ किमी नयाँ ट्र्याक खुला गर्ने सम्झौतामा उल्लेख भएको कार्यालयकाका सूचना अधिकारी रविन चोख्यालले बताए।
बन्दना भगवती जलजला कन्ट्रक्सनले २१ करोड ४३ लाखमा ठेक्का सम्झौता गरेको थियो। रिङरोडको ढुम्बातालदेखि छैरोसम्मको नयाँ ट्रयाक खोल्ने काम भइसकेको छ। पछिल्लो समय रिङरोडको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५१ दशमलव ८२ प्रतिशत रहेको जनाइएको छ।
मुस्ताङको घरपझोङ रिङरोड विस्तार सकिएमा पालिकाका स्थानीय किसानले उत्पादन गर्ने कृषि उत्पादनको सहज बजारीकरणमा टेवा पुग्ने कार्यालयको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्