मुस्ताङको कागबेनी—मुक्तिनाथ सडक सञ्चालनमा
१९ पुस, जोमसोम । गत मंगलबारदेखि भारी हिमपातका कारण अवरुद्ध मुस्ताङको कागबेनी—मुक्तिनाथ सडक आइतबार सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा नेपाली प्रहरीको करिव २० जना सुरक्षाकर्मीको टोलीले सडक माथिको हिउँ पन्छाएपछि कागबेनी—मुक्तिनाथ सडक सञ्चालनमा आएको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलका अनुसार वारागुङ मुक्तिक्षेत्र-३ कागबेनीदेखि माथि उकालो ट्रनिङ सडकमा २ किमी र मुक्तिनाथ सडकको कालोभिर क्षेत्रमा सडकमाथि थुप्रिएको हिउँ पन्छाइको हो। मुस्ताङ प्रहरीले आवश्यक उपकरणसहित सडकको हिउँ हटाएपछि जोमसोम—कागबेनी—मुक्तिनाथ आउजाउमा सहज भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।
‘मुस्ताङमा भारी हिमपात भएको थियो, हिमपातले सडकमाथि बाँक्लो हिउँ जम्मा भयो’, सूचना अधिकारी पौडेलले भने, ‘पुरै हिउँ पन्छाउन सम्भव देखिएन, सवारीको ट्रयाकमा पर्ने हिउँ मात्र पन्छाएका हौं।’ मुस्ताङमा अत्यधिक चिसो बढेका कारण हिउँ हटाए पनि पूनः जमेर समस्या आउन सक्ने प्रहरी निरीक्षक पौडेलको भनाइ छ।
हिमपातका कारण कागबेनी—मुक्तिनाथ सडक तथा उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनेको थियो। दुईदिन अघि उपल्लो मुस्ताङमा तीन फिट र तल्लो मुस्ताङमा दुई फिट बढी हिउँ परेको थियो।
सडक अवरुद्ध बनेसंगै मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका दर्जनौं सवारी साधन कागबेनीमा अलपत्र परेका थिए। प्रहरी निरीक्षक पौडेलका अनुसार आइतबार एक सयभन्दा बढी धार्मिक पर्यटक कागबेनीबाटै हिंडेर मुक्तिनाथ पुगेका थिए। मुक्तिनाथ पुग्ने तीर्थालुको सहजताका लागि सडकको हिउँ पन्छाउन परेको प्रहरीले उल्लेख गरेको छ।
यसअघि आइतबार नै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पर्यटक सचेतनामूलक कार्यक्रम गरेको छ। मुक्तिनाथ दर्शन गर्ने तथा उपल्लो मुस्ताङ जाने पर्यटकलाई घरपझोङ—४ जोमसोमको पक्की पुल नजिक हिमपातले पुर्याउन सक्ने जोखिम र सम्भावित दुर्घटनाको विषयमा जानकारी गराएको प्रहरी निरीक्षक पौडेलले बताए। उनले भने,‘मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा अझै बाक्लो हिउँ जमेर बसेको छ। हिमपातले पर्यटकलाई कुनै पनि क्षति नहोस् भन्ने हाम्रो उद्देश्य हो। यसैले पर्यटकलाई पूर्व जानकारी गराएका छौं।
प्रतिक्रिया दिनुहोस्