मीठो मुस्कानको पासो : कोरियाबाट फर्केका युवा यसरी ‘हनी ट्रयाप’को जालोमा फसे
सहमतिमा यौन सम्बन्ध, गोप्य तस्बीर देखाएर ‘ब्ल्याकमेलिङ’
समाचार सारांश
- सुर्खेतका एक युवक कोरियाबाट फर्केपछि युवतीसँगको सम्बन्धमा १४ लाख गुमाउन बाध्य भए।
- युवतीले ती युवकलाई ब्ल्याकमेलिङ गर्दै रकम असुलेकी थिइन्, जसका कारण उनी प्रहरीमा उजुरी दिन पुगे।
- प्रहरीले युवतीलाई पक्राउ गरेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सुर्खेत । सुर्खेतका २० वर्षीय एक युवक ०८१ साउनमा कोरियाबाट नेपाल आएका थिए । कोरियामा दुःख गरेर कमाएको पैसा र भविष्यको सुन्दर सपना बोकेर उनी घर फर्किए । तिनै युवाका लागि चिनजानकी एक युवतीसँगको सम्बन्ध जीवनकै सबैभन्दा ठुलो भुल साबित भयो ।
सामान्य चिनजानबाट सुरु भएको सम्बन्ध जब डर, धम्की र ब्ल्याकमेलिङको अँध्यारो सुरुङमा पस्यो, तब उनले डेढ वर्षको अवधिमा १४ लाखभन्दा बढी रकम गुमाउनुपर्यो ।
- ‘हनी ट्रयाप’मा कसरी परे ?
घटना ०८१ सालको भदौ महिनातिर सुरु हुन्छ । दैलेखको नौमुले गाउँपालिका–८ घर भई वीरेन्द्रनगर–९ मा बस्दै आएकी २१ वर्षीया सिन्दु चन्दले कोरियाबाट भर्खरै फर्केका ती युवालाई वीरेन्द्रनगर–६ स्थित बुलबुले भ्यु होटलमा भेट्न बोलाइन् । उनीहरूबिच पहिलेदेखि नै सामान्य चिनजान थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार त्यहाँ उनीहरूबिच सहमतिमै यौन सम्बन्ध कायम भयो ।
त्यो भेट सामान्य र व्यक्तिगत लाग्थ्यो, तर सिन्दुका लागि यो एक योजनाको सुरुवात थियो । यौन सम्बन्धको वेला सिन्दुले ती युवालाई थाहै नदिई गोप्य रूपमा केही तस्बिर खिचिसकेकी थिइन् ।
सुरुमा सबै ठिकठाक चल्यो । सहयोग गर्ने बहानामा किनमेल गर्ने, घुम्ने क्रम चलिरह्यो । केही महिनापछि सिन्दुको वास्तविक रूप बाहिर आउन थाल्यो । उनले त्यही गोप्य तस्बिरलाई हतियार बनाइन् ।
‘सुरुमा उनले २ लाख रुपैयाँ मागिन्,’ डीएसपी बुढथापाले रातोपाटीसँग भने, ‘त्यसपछि सुरु भयो डर र त्रास र धम्कीका शृङ्खला ।’
सिन्दुले ती युवालाई जबरजस्ती करणीको मुद्दामा फसाइदिने र नग्न तस्बिर सामाजिक सञ्जालमा छरिदिने धम्की दिन थालिन् । समाजमा हुने बेइज्जती र कानुनी झमेलाको डरले ती युवा निकै डराए । उनले सिन्दुलाई मागेको रकम दिँदै गए ।
यो क्रम लगभग डेढ वर्षसम्म चल्यो । सुरुमा ती युवाले सिन्दुलाई दुई लाख रकम दिए । तर सिन्दुले डर, त्रास देखाउन छाडिनन् । ‘विभिन्न मितिमा पटक–पटक गरी जम्मा १४ लाख २५ हजार रुपैयाँ असुलिसकेकी छन्,’ बुढथापाले भने, ‘हालसालै मात्र युवाले सिन्दुको खातामा ५ लाख हाले ।’
तर, उनको माग रोकिएन । पैसा सकिँदै जाँदा र धम्कीको मात्रा बढ्दै गएपछि युवा मानसिक रूपमा विक्षिप्त बन्न थाले । ‘डेढ वर्षमा झण्डै १५ लाख दिइसकेँ, अझै पनि पैसा माग्दैछे,’ पीडा सहन नसकेर बाध्य भएर प्रहरीकहाँ पुगेका ती युवाले भने, ‘बरु मलाई उतिखेरै मुद्दा हालेको भए हुन्थ्यो, यसरी त म बर्बाद भएँ ।’
निरन्तरको धम्की र पैसाको मागले आजित भएपछि ती युवालाई मुद्दा दर्ता गराउन प्रहरीले सहयोग गर्यो । तर, प्रहरीकहाँ जानुअघि उनीभित्र ठुलो द्वन्द्व चलिरहेको थियो । ‘ऊ एकदम डराएको थियो, समाजमा फेरि जगजगी हुन्छ कि भन्ने डरले भन्ने कि नभन्ने दोधारमा थियो,’ डीएसपी बुढथापाले पीडित युवाको कुरा सुनाए, ‘एकदिन ऊ मसँगै आयो र भन्यो– सर ! म त बर्बाद भएँ ।’
पीडितले आफूसँग भएका सबै प्रमाण– कल रेकर्ड, म्यासेज र सिन्दुकै नामको बैंक खातामा पैसा जम्मा गरिदिएको स्टेटमेन्ट प्रहरीलाई देखाए ।
प्रहरीले उनलाई आश्वस्त पार्यो । ‘आत्तिनु पर्दैन, हामी छौँ, यदि कोही पीडित हो भने उसले उतिखेरै उजुरी दिनुपर्छ, यसरी पटक–पटक पैसा माग्नु त सरासर ठगी र आपराधिक कार्य हो,’ प्रहरीको यस्तो आश्वासनपछि मात्रै ती युवाले औपचारिक जाहेरी दिने आँट गरे ।
जाहेरीका आधारमा मंगलबार बिहान प्रहरी टोलीले सिन्दु चन्दलाई पक्राउ गर्यो । प्रहरीसँगको सोधपुछमा उनले सुरुमा ती युवालाई ‘दाइ’ भन्ने गरेकोजस्ता तर्क गरेर उम्किन खोजिन् । तर, प्रमाणअगाडि उनको केही लागेन ।
‘सिन्दुले पैसा लिएको स्वीकार गरिसकेकी छन्,’ डीएसपी बुढथापाले भने । अहिले सिन्दुमाथि आर्थिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ । यो घटनाले ‘हनी ट्रयाप’ को बढ्दो अपराध र कसरी मिठो सम्बन्धको बहानामा व्यक्तिको जीवन र सम्पत्ति दुवै बर्बाद हुन्छ भन्ने डरलाग्दो चित्र प्रस्तुत गरेको छ ।






प्रतिक्रिया दिनुहोस्