मिथिला मध्य परिक्रमामा सहभागी थप एक तीर्थ यात्रीको मृत्यु
२७ फागुन, जनकपुरधाम । मिथिला मध्य परिक्रमामा सहभागी भएका थप एकजना तीर्थ यात्रीको मृत्यु भएको छ ।
पछिल्लो पटक महोत्तरीको भंगहा नगरपालिका ९ कंचनवनस्थित आधारभूत विद्यालयमा विश्राम गरिरहेका अन्दाजी ५५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कालो रातो सुइटर र फुलबुट्टे साडी लगाएकी मृत महिलाको सनाखत हुन नसकेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीको भनाई छ ।
यसअघि २३ फागुनमा पनि एक जना मिथिला मध्य परिक्रमामा सहभागी भएका एक तीर्थ यात्रीको मृत्यु भएको थियो ।
भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्ला बासोपट्टी ग्राम पंचायत वडा नम्बर ९ बस्ने ५० बर्षीया प्रमिला देवी दासको मृत्यु भएको थियो ।
परिक्रमा टोली जलेश्वर पुगेको बेला जलेश्वर ६ स्थित परिक्रमा पोखरीको भर्याङमा अचानक रिंगटा लागेपछि लडेर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्