मार्खु चित्लाङ पर्यटकीय सडक : ठेकदार भेट्न मुस्किल

मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको पर्यटकीय सडकको काम अत्यन्त सुस्त देखिएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पर्यटकीय सडक (कलंकी–मार्खु–सिम्लाङ–विसिंखेल खोला) सडक निर्माणको गति सुस्त देखिएको हो ।
ठेक्का सम्झौता अनुसार निर्माणको समयसीमा सकिन लाग्दैगर्दा सो सडकको भौतिक प्रगति २५ प्रतिशत पनि हुन सकेको छैन । २ वर्षमा काम सक्ने गरी सम्झौता गरेका ठेकदारले समयमै काम नगर्दा स्थानीय तथा व्यवसायी मर्कामा परिरहेका छन् ।




सडक निर्माण अलपत्र हुँदा मकवानपुरको पर्यटकीय क्षेत्रको रूपमा रहेको कुलेखानी, मार्खु, चित्लाङ, बज्रबाराही तथा दामन–पालुङ क्षेत्रमा पर्यटकको आवागमनमा समेत समस्या पुगिरहेको छ । ठेकदारले सडक भत्काएर अलपत्र बनाएपछि सो क्षेत्रमा जान चाहने पर्यटकलाई सास्ती हुने गरेको छ भने व्यापार–व्यवसाय पनि चल्न सकेका छैनन् ।
स्थानीय राजकिशोर कार्की सिम्लाङमा हार्डवेयर व्यवसाय गर्छन् । सडकको अवस्था राम्रो नहुँदा पछिल्लो समय सो क्षेत्रमा पर्यटकको संख्या कम भएको उनले बताए ।
सडक भत्काएर अलपत्र छाड्दा धुलो–धुवाँका कारण बसोबास गर्न पनि कठिन भएको उनको भनाइ छ । धुलो उडेर हैरान भएपछि आफूहरूले नै ट्याङ्करबाट पानी हाल्ने काम गरिरहेको उनको भनाइ छ ।
स्थानीय बिमला बलामीका अनुसार सडक निर्माणको काम समयमा नसक्दा धुलो उडेर हैरान पार्ने गरेको छ । जसका कारण रुघाखोकी लाग्ने, श्वासप्रश्वासका बिरामी बढ्ने गरेको उनको भनाइ छ ।
सडक निर्माण समयमा नहुँदा आवतजावतमा कठिन भएको र व्यापार व्यवसाय पनि चल्न नसकेको बलामीले बताइन् । विगतको तुलनामा सो क्षेत्रमा पर्यटक पनि कम आउने गरेको र होटल व्यवसाय निकै कम मात्रामा चलेको उनले बताइन् ।
पर्यटकीय रुटको रूपमा विकास गर्ने गरी कुलेखानी–मार्खु–चित्लाङसम्मको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्नेगरी २०८० असारमा बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । उक्त योजनाका लागि प्रदेश सरकारले ४९ करोड रुपैयाँ लागत अनुमानसहित तत्कालीन पूर्वाधार विकास कार्यालय चितवनमार्फत् ठेक्का आह्वान गरेको थियो ।

घटाघट विधिमार्फत् ठेक्का आह्वान गरिएको उक्त योजनाको जिम्मा लामा आइएस आरआर जेभी काठमाडौँले पाएको थियो । २०८० असार १९ मा ठेक्का सम्झौता गरेको कम्पनीले हालसम्म सडक चौडा पार्ने कामबाहेक केही गरेको छैन ।
हाल पूर्वाधार विकास कार्यालय मकवानपुर मार्फत् नियमन तथा अनुगमन भइरहेको ८.६ किलोमिटर लम्बाइको उक्त सडक स्तरोन्नतिसहित चौडा पार्ने र कालोपत्रे गर्नेसम्मको कामका लागि ३५ करोड २८ लाख ६२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
२०८२ असार १८ गतेसम्म काम सक्ने गरी ठेक्का लिएको सो कम्पनीका ठेकदारले हालसम्म करिब २५ प्रतिशत भौतिक प्रगति देखाएका छन् । चालु आर्थिक वर्षमा १२ करोड रुपैयाँ बजेट विनियोजन भएको उक्त सडकको हालसम्म वित्तीय प्रगति २२ प्रतिशत देखिएको छ ।
ठेकदार भेट्न मुस्किल
सो सडक निर्माणको जिम्मा लिएको कम्पनीलाई सम्पर्कमा ल्याउन र काम गराउन निकै कठिन रहेको पूर्वाधार विकास कार्यालय मकवानपुरले जनाएको छ ।
सडक निर्माणका स्थानीयस्तरमा कुनै समस्या नहुँदा समेत निर्माण कम्पनीले हालसम्म कार्ययोजना अनुसार काम नगरेको कार्यालयका प्रमुख सुजन भण्डारीले जानकारी दिए । पटकपटक छलफल र वार्ता गर्दा पनि निर्माण कम्पनीले काम नगरेको उनको भनाइ छ ।
‘यस ठेक्कामा काम गर्न मलाई पनि निकै कठिन भइरहेको छ । निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर छलफल र वार्ता गर्दा पनि काम हुन सकेको छैन,’ उनले भने, ‘स्थानीयस्तरमा सो सडकमा कुनै समस्या छैन । प्रदेशको सो आयोजनामा डम्पिङ साइटको पनि व्यवस्था गरिएको छ ।’

अब ४ महिनामा सो ठेक्काको काम सक्नुपर्ने अवस्था रहे पनि अहिलेसम्म नाला बनाउने कामसम्म हुन नसकेको भण्डारीले बताए । उनका अनुसार निर्माण कम्पनीले ३५ करोडको ठेक्कामा ३५ जना कामदार राखेर काम गरिरहेको छ ।
निर्माण कार्य समयमै सक्न आफूले निरन्तर छलफल तथा अनुगमन गरिरहेको भण्डारीले बताए । निर्माण कम्पनीलाई काम छिटो गर्न दबाब बढाइरहेको उनको भनाइ छ ।
सो ठेक्काको काम समयमै सक्न कार्यालयले पछिल्लो ४ महिनामा मात्र ३ पटक छलफल गरेको छ भने ५ भन्दा बढी पटक पत्र काटेको छ ।
गत असोजमा गठित उक्त कार्यालयले पूर्वाधार विकास कार्यालय चितवनको फाइल ल्याएर सडक निर्माणको कामलाई तीव्र बनाउन निर्माण कम्पनीलाई दबाब दिइरहेको कार्यालय प्रमुख भण्डारीले बताए ।
काम समयमै सक्न कार्यालयले ३ पटक निर्माण व्यवसायीसँग बैठक बसेर निर्णयसमेत गरेको उनको भनाइ छ ।
हालकै अवस्थामा सो ठेक्काको काम निर्धारित अवधिभित्र ५० प्रतिशत पनि पुग्ने अवस्था नरहेको भण्डारीले प्रस्ट पारे । यद्यपि कार्यालयको निरन्तरको प्रयासपछि चैत पहिलो साताबाट निर्माण सामग्री र जनशक्ति थप गरेर काम गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको उनको भनाइ छ ।
यातायात पूर्वाधार निर्देशनालयमा निर्देशकको उपस्थितिमा २ र कार्यालयमा एक पटक सो सडक निर्माणको विषयमा छलफल भएको भण्डारीले बताए । गत कात्तिक, पुसमा निर्देशकको उपस्थितिमा भएको छलफलमा समयमै सक्न निर्देशन दिइएको उनले बताए । माघ महिनामा पनि बैठक बसेको उनको भनाइ छ ।
सो बाहेक कार्यालयले निर्माण व्यवसायीलाई ५ पटक पत्राचार गरेको भण्डारीले जानकारी दिए । पछिल्लो ४ महिनामा गरिएका अनुगमनबाट पत्र काटिएको उनको भनाइ छ । बैठक र पत्राचार गर्दा पनि निर्माण कम्पनीले उचित नतिजा दिनेगरी काम गर्न नसकेको उनले बताए ।
हालकै अवस्थामा सो ठेक्काको काम निर्धारित अवधिभित्र ५० प्रतिशत पनि पुग्ने अवस्था नरहेको भण्डारीले प्रस्ट पारे । यद्यपि कार्यालयको निरन्तरको प्रयासपछि चैत पहिलो साताबाट निर्माण सामग्री र जनशक्ति थप गरेर काम गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको उनको भनाइ छ ।
निर्माण कम्पनीले क्रसर स्थापनाको काम गरिरहेको र क्रसर सञ्चालन भएपछि कामले तीव्रता पाउने जनाएको भण्डारी बताउँछन् । सो ठेक्कामा चालु आर्थिक वर्षमा नाला निर्माण, बेस तथा ग्राभेल गर्ने काम सक्ने लक्ष्य रहेको उनले बताए ।
ठेक्काको अनुगमन तथा मूल्याङ्कनसहित म्याद थपको बारेमा निर्णय गर्ने र आगामी आर्थिक वर्षमा कालोपत्रे गर्नेगरी कार्यालयले योजना तयार गरेको प्रमुख भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस्