मारिओपोलमा आत्मसमर्पण गर्न रुसले गरेको आह्वान युक्रेनद्वारा अस्वीकार

७ चैत्र,काठमाडौं । मारिओपोलमा आत्मसमर्पण गर्न रुसले गरेको आह्वान युक्रेनले अस्वीकार गरेको छ।

युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने प्रश्नै नउठ्ने बताएकी छन्। रुसले आत्मसमर्पण गर्न दिएको समयसीमा सकिनु घण्टौं अगाडि नै उनले यस्तो बताएकी हुन्।

frontline

मस्कोले दिएको समयसीमाभन्दा अगावै युक्रेनी सरकारले निरन्तर आक्रमणमा परिरहेको मारिओपोल सहरमा आत्मसमर्पण नगर्ने जबाफ दिएको छ।

आत्मसमर्पण गरेर हतियार त्यागे लडाकु र गैरसैनिकलाई सुरक्षित मार्ग दिने रुसले भनेको थियो।

मस्कोले सोमबारबाट त्यहाँ सुरक्षित मार्ग खोलिदिने बताएको छ। 

दक्षिणी बन्दरगाह सहर मारिओपोलमा रुसले हप्तौँदेखि घेराबन्दी तथा निरन्तर आक्रमण गरिरहेको छ।

मस्कोस्थित रक्षा मन्त्रालयले मारिओपोलमा डरलाग्दो मानवीय सङ्कट उत्पन्न भइरहेको स्वीकारेको छ।

रुसी बमबारीका कारण मारिओपोल सहर लगभग ध्वस्त भइसकेको बताइएको छ।

आइतबार राजधानी किएभमा पनि ठूल्ठूला विस्फोटहरू भएका छन्। त्यहाँका मेयरका अनुसार कैयन् घरहरू तथा एक किनमेल केन्द्र समेत निसानामा परेका छन्।

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायले युक्रेनमा युद्धका कारण घर छाडेर भाग्नेहरूको सङ्ख्या १ करोड पुगेको जनाएको छ।

युक्रेनको कूल जनसङ्ख्याको त्यो एक चौथाइ हो। विस्थापित हुने गति र व्यापकताको हिसाबबाट यो पछिल्ला दशकहरूकै अभूतपूर्व घटना रहेको सो निकायले बताएको छ।

विस्थापितहरूमध्ये झन्डै ३५ लाख मानिसले देश नै छाडेका छन्।
– बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here