माओवादीको पहलमा गणतन्त्रवादीहरूको प्रदर्शनको तयारी

२५ फागुन, काठमाडौं । काठमाडौंमा गणतन्त्रवादीहरूको प्रदर्शन गर्ने तयारी भएको छ । यसका लागि आन्तरिक छलफल चलिरहेको माओवादी नेता हिमाल शर्माले बताए ।
‘ठूला दलहरूको संलग्नतामा गणतन्त्र पक्षधरहरूको प्रदर्शनको गर्ने तयारी छ । अरु दलहरू तयार हुन्छन् नभए माओवादी एक्लैले गर्छ’, शर्माले अनलाइनखबरसँग भने ।




प्रदर्शनको समय भने तय भएको छैन । चैत पहिलो साताभित्र काठमाडौंमा प्रदर्शन गर्ने तयारी रहेको नेताहरू बताउँछन् ।
राजावादीहरूको गतिविधि बढेको भन्दै माओवादीका शीर्ष नेताहरू ‘तराई–मधेश जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित भएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार काठमाडौं केन्द्रित भएका शीर्ष नेताहरू अनौपचारिक संवादमा छन् ।
राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा नेताहरू जुटेका हुन् ।
अनौपचारिक छलफलपछि औपचारिक छलफल राखेर निचोडमा पुगिने नेताहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्