महायज्ञमा वातावरण र जल संरक्षण गर्न जोड

प्राकृतिक स्रोतमाथि भइरहेको अनुचित दोहनप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। जल, जमिन र जंगलबिना प्राणी जगत्को अस्तित्व नरहने भन्दै उनीहरूले चराचर जगत्को अस्तित्वका लागि वातावरण र जल संरक्षणमा जोड दिएका हुन्।

बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ‘अनन्तीश्री विश्वब्रह्माण्डीय महायज्ञ’ अन्तर्गत ‘प्राकृतिक स्रोत र वातावरण’ विषयक राष्ट्रिय बहस कार्यक्रममा पञ्चकोटका परिकल्पनाकार एवं महायज्ञका संकल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले पानी नै सभ्यता, संस्कृति र जीवन हो भने। ‘अबको विश्वले पानीको संकटसँग जुध्नुपर्छ, विश्वयुद्ध भयो भने पनि पानीकै कारणले हुन्छ, हामी बाँच्नका लागि पनि पानी जोगाऔं, पानी नै नभएर यो सारा सृष्टिको अस्तित्व कसरी सम्भव होला ?’, उनले भने।

frontline

स्वामी कमलनयनाचार्यले जल सम्पदा संरक्षणको सन्देश नेपालजस्तो जलस्रोतको धनी देशले दिनुपर्ने भन्दै यसका लागि अभियान नै सञ्चालन गरिने बताए। अहिल्यैदेखि जल तथा नेपालका प्राकृतिक सम्पदा संरक्षणमा लाग्न नयाँ पुस्तालाई उनले आह्वान पनि गरे।

मानवीय कारणले अहिले विश्वमा धेरै संकट देखिएको र जलवायु परिवर्तन यस्तै एउटा नयाँ संकटको स्वरुप रहेकाले यही संकटले विश्वमा निकट भविष्यमै पानीको संकट निम्त्याउन लागेको उनले बताए।

स्वामी कमलनयनाचार्यले भने, ‘हाम्रो देवदेश नेपाल जल, जंगल र अनेक प्राकृतिक सम्पदाका क्षेत्रमा विश्वमै धनी छ। यही देवभूमिले नै जलसम्पदा संरक्षणको सन्देश विश्वव्यापी रुपमा दिनुपर्ने छ। त्यसैले जल संरक्षणको प्रतीकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिनु हाम्रो कर्तव्य हुन आउँछ। महायज्ञमा देखिएको अभूतपूर्व उपस्थिति र प्रतिबद्धताले यो अभियानलाई पूर्णता दिने अपेक्षा गर्न सकिन्छ।’

यही फागुन ९ देखि सुरु भएको यस महायज्ञमा अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, न्याय, समावेशी समाज, महिला सशक्तीकरण, जल तथा प्राकृति स्रोत सम्पदाहरूको संरक्षण, पूर्वीय चिकित्सा पद्धति र जनस्वास्थ्य, सुशासन, भाषा साहित्य र संस्कृति संरक्षणलगायतका विषयमा सम्बन्धित विषयका विज्ञहरूको सहभागितामा राष्ट्रिय बहस कार्यक्रम आयोजना गरिएको छ।

मङ्गलबारको यस प्रकृति बहसमा जलवायुविज्ञ डा. विमल रेग्मीले प्राकृतिक स्रोतमाथिको मानवीय अतिक्रमणका कारण विश्वले जलवायु संकटको सामना गरिरहेको बताए।

‘प्राकृतिक स्रोत आर्थिक, सामाजिक विकासको मेरुदण्ड हो, तिनको सही सदुपयोग हुनुपर्छ’, उनले भने, ‘धर्म, संस्कृतिका माध्यमबाट पनि समुदायले जमिन, वनजंगल र पानीका स्रोतको संरक्षण गरिएको पाइन्छ, यसलाई बढावा दिनुपर्छ।’ प्रकृतिले दिएका अनेक देन र जैविक विविधता नै नेपालको मुख्य सम्पत्ति भएको उनको भनाइ छ।

प्रकृति र वातावरणका मुद्दा ओझेलमा परेको सुनाउँदै डा. रेग्मीले प्राकृतिक स्रोतसाधनको समुचित प्रयोगले मात्र मुलुकले समृद्धि हासिल गर्ने धारणा राखे। ‘तीनै तहका सरकारको यसमा दायित्व छ, प्राकृतिक स्रोतसाधन र सम्पदाको संरक्षणमा सामुदायिक भावनाको विकास गर्न उत्प्रेरकको काम गर्नुपर्छ’, उनले भने।

जलवायु न्यायको विषय रहेको भन्दै उनले पर्यावरण संरक्षणमा अन्तर्राष्ट्रिय स्रोत जुटाउन राज्यले पहल लिनुपर्ने बताए। विकसित देशका कारण नेपालले जलवायु संकटको सामान गरिरहनुपरेको डा. रेग्मीको भनाइ छ। ‘अन्तर्राष्ट्रियस्तरका जलवायु तथा वातावरण कोषमा नेपालले पहुँच पु¥याउन आवश्यक छ। जलवायुको विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा मूल प्रवाहीकरण गर्नुपर्छ’, उनले भने।

वन विज्ञान अध्ययन संस्थान पोखराका उपप्राध्यापक एवं जलाधार विज्ञ राजन सुवेदीले नेपालको प्राचीन सभ्यता खोलानाला र सम्पदासँग जोडिएको बताए। उनले धर्मले पनि प्रकृति र वातावरण संरक्षणको पाठ सिकाउने धारणा राखे। ‘पानीको स्रोत नरहे पृथ्वीको अस्तित्व सकिन्छ, पृथ्वीलाई सन्तुलित गरेर राख्ने भूमिका पानीले खेलेको हुन्छ’, सुवेदीले भने, ‘पानीलाई स्वच्छ राखौं, नदीनाला जोगाऔं।’

प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापनमा जोड दिँदै सुवेदीले परम्परागत ज्ञान र संस्कृतिलाई अबलम्बन गर्न सके पर्यावरण संरक्षणमा टेवा पुग्ने विचार राखे। ‘कालीगण्डकी बचाऔं अभियान’ का संयोजक आरके अदीप्त गिरीले पछिल्ला दशकमा नेपालका नदीनाला मानवीय अतिक्रमणका कारण संकटमा परेको धारणा राखे। 

नेपालको हिमालय क्षेत्र हुँदै बग्ने नदीहरू विश्वका दुई अर्ब मानिसको पानीको स्रोत रहेको भन्दै उनले गिटी बालुवाका नाममा नदीलाई ठेक्का लगाउने प्रवृत्ति घातक रहेको बताए। ‘कालीगण्डकी नदी पाषण युगसँग सभ्यता जोडिएको विश्वकै श्रेष्ठ नदी हो, तर अहिले यो दोहनको दुष्चक्रमा परेको छ, नदी दिनदिनै खण्डहर बनिरहेको छ’, गिरीले भने, ‘मानव जीवनको स्रोत नदी कालीगण्डकीमाथिको हस्तक्षेप रोकिनुपर्छ।’

नेपाल पर्वतीय संवेदनशीलता बोकेको भूगोलमा अवस्थित रहेकाले प्राकृतिक स्रोतको उचित सदुपयोग र व्यवस्थापन हुन नसके अकल्पनीय प्राकृतिक विपत्ति निम्तिन सक्ने खतरा रहेको उनको भनाइ छ। गिरीले ऋषिमुनिले पुज्दै आएका कालीगण्डकीलगायतका नदीनालाको संरक्षणमा सबै पक्ष जुट्नुपर्ने बताए। ‘विज्ञानको यत्रो चमत्कार हुँदा पनि पानीको आविष्कार भने अहिलेसम्म हुन सकेको छैन’, उनले भने, ‘हाम्रा नदीनालामाथि भइरहेको निर्मम दोहन रोकौं, प्रकृतिसँग खेलबाड नगरौं, निजिस्कौं।’

वातावरण संरक्षण अभियन्ता सिलसिला आचार्यले सहजीकरण गरेको उक्त बहसमा डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले पृथ्वी मान्छेको मात्रै नभई सारा प्राणी जगत्को रहेको बुझ्नुपर्नेमा जोड दिए। ‘पृथ्वी जीवजन्तु र वनस्पतिको पनि हो भन्ने सोचको विकास गर्नुपर्छ’, उनले भने, ‘विकास निर्माणका योजना  वातावरणमैत्री रूपमा सञ्चालन गर्न आवश्यक छ।’

वन मासेर सडक निर्माण गर्नका लागि आफूकहाँ दिनदिनै माग आउने गरेको सुनाउँदै उनले स्थानीय तहले जथाभावी रुपमा सडक निर्माण गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए।

महायज्ञको पहिलो दिन यही फागनु ९ गते जल तथा ऊर्जा विकास, फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणाली, फागनु १२ गते गण्डकी विकासको अवधारणा, १३ गते प्रादेशिक राजनीति र सुशासन, फागुन १४ गते राष्ट्रिय सुरक्षा प्रणाली, फागुन १५ गते आत्मनिर्भरमुखी कृषि, १६ गते योग तथा खेल, फागुन १७ गते पूर्वीय चिकित्सा पद्धति, फागुन १८ गते राष्ट्रिय अर्थतन्त्रको विकाससम्बन्धी सम्मेलन गरिएको उनले जानकारी दिए।

यस्तै फागुन १९ गते समावेशिताको विकास, फागुन २० गते भाषा, साहित्य र संस्कृति, फागुन  २१ गते समाजसेवा र हिजो प्राकृतिक स्रोत र वातावरणसम्बन्धी सम्मेलन राखिएको थियो। महायज्ञको अन्तिम दिन आज वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक संस्थाको संरक्षणसम्बन्धी सम्मेलन जारी छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here