मल आपूर्ति नहुँदा मधेसका किसान चिन्तित
प्रत्येक वर्ष खेती गर्ने समयमा किसानले रासायनिक मलको अभाव झेल्नुपर्ने बाध्यता निम्तिन्छ । समयमै मल आपूर्ति नहुँदा किसानले सिजनमै मलको अभाव सामना गर्नुपर्ने नियति छ ।
यतिबेला मकै बालीका लागि रासायनिक मल आवश्यक पर्छ । केही महिनामै धान खेतीका लागि पनि मलको जोहो गर्नुपर्ने बाध्यतामा किसान छन् ।
अन्न उत्पादनको दृष्टिले महत्त्वपूर्ण मानिको मधेस प्रदेशमै रासायनिक मलको अभाव बढ्न थालेको छ । रासायनिक मल, भरपर्दो सिँचाइ र उन्नत बीउको सहज उपलब्धता नहुँदा कृषि उत्पादनमा ह्रास आउने कृषकको भनाइ छ ।
‘एकातिर सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएका छौँ भन्छ, तर अर्कोतर्फ कृषकलाई चाहिने मल समयमै उपलब्ध गराउन सक्दैन,’ धनुषाका किसान रामप्रसाद साहले भने ।
चैते धान, मकै र उखुका लागि समयमा मल नपाउँदा मधेसका किसान निराश बनेका छन् ।
सर्लाहीको नवलपुरका किसान अशोक झाले बजारमा मलको अभावसँगै कालोबजारी बढेको गुनासो गरे । समयमै मल नपाउँदा उखु रोप्न नसकिएको उनले बताए ।
धनुषाको नगराइन नगरपालिका निवासी ज्योतिष चन्द्र झाले पनि गत वर्षझैँ यस वर्ष पनि मल अभाव दोहोरिएको बताए । ‘मलको चरम अभाव छ । कालोबजारी पनि बढेको छ,’ उनले भने, ‘अघिल्ला वर्षहरूमा हामी सीमा पारीबाट मल ल्याएर केही व्यवस्थापन गर्थ्यौँं, तर सीमा क्षेत्रमा कडाइ बढेपछि यस वर्ष झन् समस्या बढेको छ ।’
किसानहरूले समयमै मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रहसमेत गरेका छन् ।
रोपाइँ गर्ने समय आउन लाग्दा सरकारको अनुदानको मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधाममा मधेसका लागि डीएपी र युरिया मलको मौज्दात आवश्यकता बमोजिम छैन ।
एक पटक रासायनिक मल प्रयोग गरिसकेको खेतमा अर्को पटक रासायनिक मल प्रयोग नगर्दा धान, गहुँ लगायतका बालीको उत्पादकत्व निकै कम हुने गरेको किसान बताउँछन् । त्यसैले खेती गर्दा रासायनिक मल प्रयोग गर्नैपर्ने वाध्यता रहेको उनीहरूको भनाइ छ ।

मधेस प्रदेशका लागि चाहिने मलको अनुपातमा कम उपलब्ध भएकाले अहिले मलको अभाव देखिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेस प्रदेशका बाली विकास अधिकृत रविन बस्नेतले बताए ।
उनले भने, ‘मलको परिपूर्र्तिका लागि सोझै खरिद गर्ने अवस्था नरहेकाले साल्ट ट्रेडिङ र कृषि सामग्री मार्फत औपचारिक/अनौपचारिक सम्पर्क गर्दा बाहिरबाट आउने सम्भावन न्यून रहेको खबर पाएका छौँ ।’ संघीय मन्त्रालयबाट वैकल्पित उपाय अपनाउन भनिएकाले सोही अनुसार काम अगाडि बढाएको उनको भनाइ छ ।
कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश वीरगंजका सूचना अधिकारी दिनेश शर्माका अनुसार मुलुकका लागि जति रासायनिक मल चाहिएको छ, सो अनुसार आपूर्ति हुन नसक्दा अभाव बढेको हो । उनले भने, ‘माग र आपूर्ति समान छैन । मुलुकका लागि १७ देखि १८ लाख मेट्रिक टन मलको आवश्यकता छ, तर सरकारले ३ देखि ४ लाख मेट्रिक टन रासायनिक मलमात्र ल्याउन सकेकाले अभाव सिर्जना हुँदै आएको छ ।’

शर्माका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण खरिद गरिएको सामान पनि रोकिएको अवस्था छ । यद्यपि पटक–पटक युरिया मल ल्याइएकाले यस वर्ष युरिया मलको अभाव हुने छैन, डीएपी मलको अभाव देखिन सक्ने उनको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्