मन्त्री शाहलाई स्पष्टीकरण सोध्दै चित्त बुझ्दो जवाफ नदिए पार्टीबाट निष्कासन गर्ने चेतावनी

काठमाडौं । धनगढी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोध्दै चित्त बुझ्दो जवाफ नदिए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका माधव नेपाल पक्षका शाहलाई बिहीबार लेखिएको ५ बुँदे स्पष्टीकरण पत्रमा ओलीले विभिन्न ८ वटा प्रश्न सोधेका छन् ।

frontline

उनलाई सोधेका प्रश्न यस्ता छन् ।

१. सरकारबाट समर्थन फिर्ता लिने र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिने पार्टीको निर्णय र निर्देशनको पालना के कति कारणले अवज्ञा गर्नुभएको हो ?

२.पार्टी केन्द्रले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहिरहनुभएको हो ?

३.सुदूरपश्चिम कमिटीले तपाईंलाई सोधेको स्पष्टीकरण पत्रअनुसार तपाईले पार्टी एकतालाई विखण्डित गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी असंवैधानिक गुटका भेलामा सहभागी हुने र अरुलाई पनि उत्प्रेरित गर्ने कार्य निरन्तर गरिआउनुको कारण के हो ?

४.पार्टीको निर्देशन र हितलाई वेवास्ता गरी पार्टीविरुद्ध अपराधिक क्रियाकलाप के कति कारणले गर्नुभएको हो ?

५. पार्टीले दिएको टिकटमा उम्मेदवार भई विजय प्राप्त गरी शपथ लिएको व्यक्तिले पार्टी निर्देशन (ह्वीप) उल्लङ्घन के कति कारणले गर्नुभएको हो ?

६.पार्टीको हित विपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी विधान तथा निर्णय विपरीत गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टीप्रतिको निष्ठा विश्वास कायम नरहने गरी भ्रम फैलाइ स्वयं पार्टीको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको मर्यादा र प्रतिष्ठामाथि आँच आउनेगरी विभिन्न क्रियाकलाप सञ्चालन गरे÷गराएको, अवाच्छित क्रियाकलापमा जिम्मेवार व्यक्तिलाई सम्मिलित गराएको ÷उक्साएको, पार्टीको एकता अक्षुष्णता र अग्रगामी कार्यदिशाको विरुद्धमा पार्टीले राष्ट्रहित र जनहितका लागि गरिरहेका, गर्नुपर्ने कार्यलाई विभाजनको दिशामा लान विभिन्न अनुचित क्रियाकलाप गरे÷गराएको देखिएकाले के कति कारणले निरन्तर गर्नु गराउनुभएको हो ?

७.पार्टीको बैठकमा लगातार किन अनुपस्थित हुनुभएको हो ?

८.पार्टी हित विपरीत गतिविधि कायम राखिरहनु भएकाले नेकपा एमालेको सम्पन्न बैठक बमोजिम तपाईंलाई नेपालको संविधान, विद्यमान अवस्थामा भएको पार्टी विधान, राजनैतिक दल सम्बन्धी ऐन २०७३, एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान समेतको व्यवस्था बमोजिम पार्टीको साधारण सदस्यतालगायत पार्टीको तर्फबाट गरिएका पदहरु, कार्यकर्ताको प्रतिनिधित्व, विभिन्न संघसंस्था वा संगठनका कुनै पद वा प्रतिनिधि रहेको भए सो समेत नरहनेगरी तपाई निष्कासन किन नगर्ने ?

शाहलाई ओलीले सोधेको पत्रमा पार्टीबाट निष्कासन गर्न नपर्ने कारण भए दुई दिन भित्र स्पष्टिकरण पेश गर्ने समय दिइएको छ ।

ओलीले जवाफ चित्तबुझ्दो नभए वा नदिए कारवाही हुने समेत लेखेका छन् ।

१० जेठमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

तर प्रदेश संसदीय दलमा एमाले माधव नेपाल पक्षको बहुमत रहेका कारण १२ जेठमा सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरिएको थियो ।

सोही अनुसार मुख्यमन्त्री त्रिलोचन भट्टले एमालेका ३ जना मन्त्रीलाई राजीनामा गर्न लगाएर ४ मन्त्री र ३ जना राज्यमन्त्री थपेका थिए ।

सो क्रममा तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री रहेका एमाले संसदीय दलका नेता शाह दोहोरिएका थिए ।

उनलाई अहिले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेले पार्टीको निर्देशन नमानेको भन्दै शाहसहितका अन्य ७ जना मन्त्री, २ जना पूर्व मन्त्री र एकजना सचेतक गरी १० जना प्रदेशसभा सदस्यमाथि कारवाही प्रक्रिया थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here